तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्ध दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु

नेपालगन्ज, चैत ७ ।

भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप गत भदौ २७ गतेबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाइएको थियो ।

पहिलो चरणको खोप लगाइसकेका १ हजार २१५ जना १५ वर्ष मुनिका किशोरीलाई मात्र एचपिभी खोपको दोस्रो मात्रा भेरी अस्पतालको खोप केन्द्रमा लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा नै १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर एचपिभी खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भएर १५ वर्ष ननाघेका १ हजार २१५ किशोरीलाई मात्र सो खोप लगाइएको बताउनुभयो । दोस्रो चरणको खोप पहिलो चरणको खोप लगाएका किशोरीलाई मात्र लगाउने जनाउँदै खोप अधिकृत श्रेष्ठले चैत ९ गतेभित्र खोप लगाउन अभिभावकसँग आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेले यो खोप अभियान तीन दिन जारी रहने जनाउँदै तीन दिनसम्म पनि धेरै जना खोप लगाउन नआएको पाइएमा खोप लगाउने समय थपिने जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६।४ प्रतिशत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button