सुदूरपश्चिम प्रदेश : छैठौं पटक मन्त्रिमण्डल बिस्तार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले छैठौं पटक मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री शाहले फागुन २५ गते नागरिक उन्मुक्तिकै दुई जना मन्त्री र एक जना राज्यमन्त्रीलाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्नुभएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सभा सदस्यहरु घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
योसँगै प्रदेश सरकारमा नागरिक उन्मुक्तिबाट ४ जना मन्त्री र एक जना राज्यमन्त्रीको सहभागिता भएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले आजै नवनियुक्त मन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री कमल बहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सरकार गठनका लागि २७ जना आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा काँग्रेस र नागरिक उन्मुक्ति सत्ता गठबन्धन बनेको छ । यहाँ काँग्रेस र नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यको सङ्ख्या २५ पुगेको छ ।
शपथग्रहण समारोह पछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री शाहले सरकारले चाँडै पूर्णता पाउने र विश्वासको मत लिने बताउनुभयो ।
केन्द्रीय राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११, एमालेका १०, काँग्रेसका १८, नाउपाका ७, एसका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्