नगरको निर्देशनपछि बर्दघाट व्यापार मेला स्थगन

नवलपरासी,पश्चिम् । बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्ने भनिएको मेला बर्दघाट नगरपालिकाले स्थगन गरिदिएको छ ।
विभिन्न कारण र धारणा सहित असन्तुष्ट व्यवसायीहरूले मेला लगाउन हुँदैन भन्ने पक्षका सात सय व्यवसायीको हस्ताक्षर सहित बर्दघाट नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका पछि मेला स्थगन गरिएको हो । नगरभित्रका विद्यालयहरूमा कक्षा ८ को आन्तरिक परीक्षा चलिरहेको र एसइई समेत नजिकै आइरहेको अवस्थामा मेलाले विद्यार्थीको ध्यान मेलातर्फ आकृष्ट हुने हुँदा पठनपाठनमा असर पर्ने भन्दै सामुदायिक विद्यालय महासङ्घ बर्दघाट नगर समितिले समेत ज्ञापनपत्र बुझाएको थियो । आर्थिक मन्दीको अवस्थामा स्थनिय पुजी समेत पलायन हुने भन्दै मेला सञ्चालनको उपयुक्त समय नभएको व्यवसायीहरूले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
व्यवसायीको ज्ञापन पत्र बुझेपछि बर्दघाट नगरपालिकाले मेला सञ्चालनका लागि भएका निर्णय र क्रियाकलापहरूको लिखित कागजात माग गर्दै मेलाको तयारीलाई स्थगित गर्न बर्दघाट उद्योग वाणिज्य सङ्घलाई पत्राचार गरेको थियो ।शुक्रबार असन्तुष्ट व्यवसायीबिच नगरपालिकामा भएको छलफल पछि नगरपालिकाले मेला स्थगन गर्नका लागि बर्दघाट उद्योग वाणिज्य सङ्घलाई पत्राचार गरेको छ ।
बर्दघाट नगरपालिकाकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले हजारौँ विद्यार्थीको परीक्षालाई असर गर्ने भएको हुँदा र आर्थिक मन्दीको अवस्थामा उपयुक्त समय नभएको व्यवसायीको भावनालाई महसुस गरी मेला स्थगन गर्ने निर्णयमा पुगिएको बताउनु भयो ।” व्यवसायीकै कुरा सुनेर सबै कुरालाई मध्यनजर गर्दै मेला स्थगन गरेका हौ,यो निर्णयमा हाम्रो कुनै आग्रह पूर्वाग्रह छैन”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।
छलफलमा नगरउपप्रमुख रुद्रप्रकाश उपाध्यायले वाणिज्य संघ सँग मागिएको कागजातमा सबै व्यापारीको सहमति सहितको मेला लगाउने भन्ने निर्णय समेत नभेटिएको बताउनु भयो ।”सबै व्यवसायीको समन्वय पनि देखिएन र उपयुक्त समय पनि भएन भन्ने कुरा आयो,मेला नै नलगाउने भन्ने कुरा होइन तर समयानुकूल भएन भन्ने मात्र हो”उपाध्यायले भन्नू भयो ।
हामी स्थानीय सरकार भन्दा माथि त रहेनौ,स्थानीय सरकारको निर्णय माथि रहेर अब मेला लगाउने कुरा पनि सम्भव नहोला।अझै पनि हामी छलफलमै छौ,हेरौँ “बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भन्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्