पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा । पोखरामा आज सम्पन्न १८ औँ संकरणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका जुलियास मुरौकी वाहोमले उपाधि जितेका छन् ।
साविक उपविजेता ३८ वर्षीय जुलियासले यसपाली उपाधिसहित नगद ५ लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भए। विजेता जुलियासले निर्धारित दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन। गत बर्ष उनले २ घण्टा २० मिनेट ३७ सेकेन्डमा उक्त दुरी पार गरेका थिए।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा आज भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा केन्याकै आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ५ सेकेण्डमा पार गर्दै उपविजेता भए । त्यस्तै, एड्विन किप्लागट मिरितिमले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा उक्त दुरी पार गर्दै तेस्रो भए । नेपालको किरण बोगटी चौथो भए।
प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ३ लाख, २ लाख र ३० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।

विभिन्न ९ इभेन्टमा भएको सफल म्याराथनको मुख्य इभेन्ट खुलातर्फ १ सय ८ जना धावकले भाग लिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो । नेपालसहित १४ राष्ट्रका धावकले भाग लिएको प्रतियोगितामा महिलातर्फ २१ दशमलब ०९७ किमीको हाफ म्याराथन, पुरुष÷महिला १० किमी, छात्र÷छात्रा ५ किमी, महिला÷पुरुष भेट्रान्स ५ किमी, रन फर फन भएको थियो । अपाङ्गतातर्फको दौड भने गत साता सम्पन्न भइसकेको छ ।
पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन भएको दाबी गरिएको छ । विभिन्न इभेन्ट अन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको थियो । गत वर्ष म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता भएको पोखरा म्याराथन पोखरा रङ्गशालादेखि सुरु भएर फेवाताल किनार क्याम्पिङ चोकमा पुगेर समापन भएको हो ।
सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको साथमा रन फर फनअन्तर्गत हजारौँ धावक एकै पटक पोखरामा दौडिएका हुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, एनआरएनएका अध्यक्ष बद्री केसी,लक्ष्मी हाउस प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतका अतिथिहरू दौडमा समेत सहभागी हुनुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्