तपाईँ सुन्दै हुनुहुन्छः

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

धनकुटा । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०८० अन्तर्गत आज धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा बसोबास गर्ने भूतपूर्व सैनिक सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ ।

श्री नं २ बाहिनी अड्डा हिलेमा सम्पन्न सम्मेलनमा सहभागीलाई प्रविधिका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानसेनापति पर्शुराम शर्माले देश र जनताका हितमा काम गरेकालाई राष्ट्रले सधैँ सम्मान गर्ने बताउनुभयो । 

उहाँले सैनिक कल्याणकारी कोषको प्रयोग गर्दै दीर्घकालीन सेवा सुविधा विस्तार गर्दै लगिने बताउनुभयो । प्रधानसेनापति शर्माले सैनिक कल्याणकारी कोष नियमावली २०६५ बमोजिम सञ्चालित सैनिक कल्याणकारी कोषले बहालवाला सैनिक, भूपू सैनिक, वीरगति प्राप्त सैनिकका परिवारलाई स्वास्थ्य सेवा, विद्यालय तथा महाविद्यालय स्थापना गरी शिक्षा प्रदान गर्ने, आवास उपलब्धलगायत विविध सेवा सुविधा प्रदान गर्दै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा दीर्घकालीन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिकहरूको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन प्रयत्नशील रहने बताउनुभयो ।

 

कार्यक्रममा ज्येष्ठ भूपू सैनिक तथा एकल महिलालाई सम्मान, अशक्तलाई ह्विलचियर वितरण गरिएको थियो भने नेपाली सेनाका विभिन्न गणले लिम्बू जातिको ढोल नाच, तामाङ सेलो, नेवारको लाखे नाच प्रस्तुत गरेका थिए। उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई नगद सहित सम्मान गरिएको थियो । 

यस्तै सम्मेलनको अवसरमा सैनिक मेडिकल टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरिएको र सैनिक निवृत्तिभरण पट्टा तथा परिचयपत्र नवीकरण गरिएको श्री नं २ बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी रामकाजी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button