तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश 

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी २३ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले चर्च व्वाईज यूनाईटेड क्लबलाई अतिरिक्त समयको सहायताबाट २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । 

९० मिनेटको निर्धारित समयमा दुवै तर्फ एक/एक गोल भए पछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । आर्मीको जितमा दिनेश हेन्जन र अतिरिक्त समयमा रस बहादुर मगरले एक/एक गोल गर्नु भयो भने चर्च व्वाइजका समिर तामाङले एक गोल गर्नु भएको हो । 

खेलको ६१ औँ मिनेटमा चर्च व्वाईजका सन्तोष खत्रीले जितेन्द्र कार्कीलाई लडाए पछि पाएको फ्रिकिकको अवसरलाई करिब २५ यार्डबाट हेन्जनले प्रहार गरेको फ्रिकिक बलले जाली चुमेको हो । खेलको ८३ औँ मिनेटमा चर्च व्वाईजका समीर तामाङले गोल गरि खेल बराबरीमा पुर्‍याउनु भएको हो । आर्मीका जितेन्द्र कार्की र गोलरक्षक समित श्रेष्ठलाई विट गर्दै समीरले फ्रष्ट वार च्याप्दै गोल गर्नु भएको हो । आर्मीका रस बहादुर मगरले खेलको ९९ मिनेटमा गोल गर्नु भयो  । वसन्त जुम्बाको क्रस बलमा मगरले गोल गर्नु भएको हो । 

आर्मीले थ्रि स्टारसँग उपाधि सहित १२ लाख १ हजार पुरस्कारको लागि शनिवार फाइनल खेलमा भिड्ने भएको छ । थ्रिस्टारले प्रिक्वाटरमा आयोजक सहारा क्लबलाई र क्वाटरफाइनलमा भने पाहुना टोली भुटानको पारो एफसीलाई पराजय गरी सेमिफाइनलमा जाउलाखेल युथ क्लबलाई पराजित गरि फाइनलमा यात्रा बनाएको हो ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टारले जाउलाखेल क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । 

यही माघ २० गते फाइनल खेल सहित प्रतियोगिता समापन हुने आयोजक सहारा क्लबले जनाएको छ । २३ ओं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । यही माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button