तपाईँ सुन्दै हुनुहुन्छः

महिनौँसम्म किसानले दूधको भुक्तानी पाएनन्, समस्या समाधान गर्न सरकारसँग माग

इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानको लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । 

इलाम नगरपालिकाले आयोजना गरेको ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधान गर्न नगरपालिकासँग माग गरेका हुन् । 

ठूलो लगानीमा पशुपालन र दुग्धजन्य पदार्थ उत्पादनको व्यवसाय सञ्चालन गर्दै आइरहेको भएपनि पछिल्लो पाँच महिना दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरिरहेको किसानहरूको गुनासो छ । इलाम नगरपालिका–५ का किसान बीरबहादुर अधिकारीले साउन १५ यताको दूधको पैसा नपाएको गुनासो पोख्नुभयो । ‘साउन ता दूधको रकम भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालfउन नै धौधौ भइसक्यो’ उहाँले भन्नुभयो, ‘हामीलाई कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ ।’ 

सोही ठाउँका अर्का किसान गंगाप्रसाद नेपालले किसानले भुक्तानी पाउनुपर्ने रकम स्थानीय, प्रदेश र संघीय सरकार मिलेर भुक्तानी गर्न माग गर्नुभयो । उहाँले किसानले दूधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत प्याकेज ल्याउन नगरपालिकासँग माग गर्नुभयो । इलाम नगरपालिका–५, माइपोखरीका किसान भुप्रसाद बजगाईँले दूध लिन दुग्ध विकास संस्थान (डिडिसी) को गाडी दैनिक आउन छोडेकाले दूध बिक्री हुन छोडेको गुनासो गर्नुभयो। ‘डिडिसीको गाडी दैनिक रुपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल २–३ दिनमा मात्र आउँछ । नआएको दिन दूध बिक्री हुँदैन, किसान मारमा छन्’ उहाँले भन्नुभयो, ‘किसानको दूध लिन कमसेकम डिडिसीको गाडी दैनिक रुपमा आउने वातावरण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।’ 

जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष होम कट्टेलले गत भदैदेखि किसानले दूधको भुक्तानी नपाएको गुनासो गर्नुभयो । उहाँले माघ तेस्रो सातासम्म पनि दूधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना हुने बताउनुभयो  । ‘किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दूधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउन समेत धौधौ पर्न थालिसक्यो’ उहाँले भन्नुभयो,‘‘किसानको समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसानहरू आन्दोलित हुनुको विकल्प छैन ।’ 

डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँच सय ६० लिटर दूधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताउनुभयो । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दूधको भुक्तानी दिन बाँकी रहेको जानकारी उहाँले दिनुभयो । उहाँले दुग्ध चिस्यान केन्द्रले डिडिसीबाटै भुक्तानी नपाएकाले किसानलेसमेत दूधको भुक्तानी पाउन नसकेको बताउनुभयो । उहाँले प्रत्यक्ष असर किसानले खेप्नुपर्ने भएकाले चाँडो समस्याको समाधान गर्न माग गर्नुभयो। 

इलाम उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनुभएका व्यवसायी चेतनाथ पौड्यालले एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको बताउनुभयो । उहाँले अझ स्टोरमा नै रहने हो भने अखाद्य तत्त्वको रुपमा परिणत हुने चिन्ता व्यक्त गर्नुभयो । ‘हामी व्यवसायी सवा करोड बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा नै राख्न बाध्य छौँ । अझ १५ दिनसम्म पनि बिक्री भएन भने अखाद्य तत्त्वमा परिणत हुन्छ । डिस्पोज गर्नुको विकल्प रहँदैन’ उहाँले भन्नुभयो, ‘यसबाट हामीले करोडौँको क्षति व्यहोर्नुपर्छ ।’ उहाँले एक लिटर दूध उत्पादनमा ५६ रुपैयाँ उत्पादन लागत लाग्ने भएकाले दूधको मूल्य घट्दा समेत किसान नै मार्कामा परेको बताउनुभयो । 

राष्ट्रिय कृषक महासङ्घका संयोजक राम मगरले गुणस्तरीय दुग्ध सामग्री उत्पादन र बजारीकरणका लागि रणनीतिक अनुगमन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ अध्यक्ष लिला थापा, नेपाल पत्रकार महासङ्घ विप्लव भटृराईलगायत सरोकारवालाहरुले उत्पादित दूधको गुणस्तर सुधार गरिनु पर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहले समयमै समाधानको पहल गर्नुपर्ने, विदेशबाट आयात भइरहेको दुग्धजन्य उत्पादनलाई नियन्त्रणका लागि भन्सार बिन्दुमा क्वारेन्टाइन चेक र नियन्त्रण हुनु पर्ने ,दुग्ध विकास संस्थान विराटनगरले किसानहरूलाई भुक्तान दिनुपर्ने रकम समयमा भुक्तान गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउने खालका नीति तथा कार्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव दिनुभएको थियो । 

इलाम नगर प्रवक्ता एवम् वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले भारतीय दुग्ध सामग्री आयातमा प्रतिबन्ध लगाए मात्र नेपाली दुग्ध उत्पादनले बजार पाउने बताउनुभयो । ‘भारतीय बजारबाट प्याकेटका प्याकेट दुग्ध सामग्री नेपालमा भित्रन्छन् । पहिले त्यसलाई प्रतिबन्ध गर्न नीतिगत पहल गर्न जरुरी छ’ उहाँले भन्नुभयो ।  ‘यसका साथै नेपाली उत्पादनलाई गुणस्तरीय बनाउन समेत सबै सचेत बन्नुपर्छ ।’उहाँको भनाई थियो । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले किसानको समस्या सधानका लागि आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाउनुभयो ।‘‘किसानले राख्नुभएको विभिन्न समस्या र सुझावलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा सम्बन्धित निकायमा सम्प्रेषण गर्नेछु’ उहाँले भन्नुभयो, ‘दुग्ध विकास संस्थान (डिडिसी) को गाडी दैनिक रुपमा आउने वातावरण बनाउन समन्वय गर्नेछु ।’ 

नगर प्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउँदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘उत्पादनदेखि बजारीकरणसम्म नै किसानका थुप्रै समस्याहरू छन् । ती समस्याबारे नगरपालिका गम्भीर छ’ प्रमुख थापाले भन्नुभयो, ‘स्थानीय सरकारको तर्फबाट किसानका लागि गर्नसक्ने काममा नगरपालिका सधैँ प्रतिबद्ध छ । तर प्रदेश र संघीय सरकारबाट गर्नुपर्ने काममा विषयमा हामीले उहाँहरूसँग सहजीकरण गरिरहेका छौँ, आवश्यक पहल गरिरहेका छौँ ।’ प्रमुख थापाले दुग्धजन्य पदार्थको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधानका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा समेत प्रदेश र संघीय सरकारसँग पहल भइरहेको बताउनुभयो । 

इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो सत्रमा इलाम नगरपालिकाको पशु विकास शाखाको तर्फबाट प्राविधिक सहायक प्रकाश लुइँटेलले समस्या र समाधानका उपायहरूका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो  । 

उहाँले इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक दुई हजार लिटर दूध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दूध नीजि डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मिठाई बनाउने उद्योगमा खपत हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button