राष्ट्रिय गौरवका आयोजनाले गति लिइरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेको संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले मन्त्रालय अन्तर्गत निर्माण भइरहेका ९ वटा सिँचाई तथा जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिइरहेको बताउनुभयो ।
मन्त्री बस्नेतले सिँचाई आयोजना निर्माण कार्य हुँदै गइरहेको र किसानलाई सिँचाई पनि उपलब्ध हुँदै आएको भन्दै जनताले आयोजना सम्पन्न नभएपनि लाभ लिइरहेको बताउनुभयो ।
मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सबै आयोजनाको प्रधानमन्त्रीले सिंहदरबारस्थित एक्सन रुमबाट र मन्त्रालयबाट अनुगमन गरी सहजीकरण गरिरहेको र दिनमा कति काम गर्ने भन्ने योजनाका साथ काम गरिरहेका कारण आयोजनाहरूले अनुभव गर्न सक्ने गरी गति लिइरहेको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव नहुने व्यवस्था भएपनि लामो समय वित्दा आयोजना सम्पन्न नहुँदा लागत बढ्नुका साथै जनताले सास्ती भोग्नु परेको, ठेक्का प्रक्रियापछि काम सुरु नभएको, अनुगमनको अभावले आयोजनाहरू सुस्त भएको, जीर्ण भएका अन्य सिँचाई आयोजनाको मर्मत नहुँदा कृषक मारमा परेको लगायतका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्