तपाईँ सुन्दै हुनुहुन्छः

भवन उद्घाटनको विषयलाई लिएर गोदावरी नगरपालिकामा तनाव 

धनगढी ।  कैलालीको गोदावरी नगरपालिका प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर तनाव सृजना भएको छ । 

गोदावरी नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमको मिति सार्वजनिक गरेपछि दलहरुबीच विवाद उत्पन्न भएको छ ।

नेकपा एमाले गोदावरी नगर कमिटीले दुई बर्षअघि नै प्रशासनिक भवनको उद्घाटन भएकाले पुनः भवन उद्घाटन गर्न नहुने भन्दै बिरोध जनाएपछि विवाद देखिएको हो । 

पूर्वनिर्धारित कार्यक्रम अनुसार नगरपालिकाले माघ ४ गते भवन उद्घाटनको तयारी अघि बढाएपछि अहिले एमाले नेता कार्यकर्ता नगरपालिका घेराउ गर्न पुगेका छन् ।

नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले २०७८ चैत्रमा नगरपालिका भवनको उद्घाटन गर्नुभएको थियो । त्यति वेला भवन निर्माण पूरा नहुँदै उद्घाटन गरिएको भन्दै नेपाली काँग्रेस सहितका दलहरूले विरोध गरेका थिए । 

नगर प्रमुख विरेन्द्र भट्टले नगरपालिका भवनको निर्माण कार्य सम्पन्न भएपछि आज माघ ४ गते भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको बताउनुभयो । उहाँले आयोजना कार्यान्वयन इकाई धनगढीले हालै नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरेकाले दलहरूको सहमतिमा भवन उद्घाटन गर्न लागिएको बताउनुभयो । 

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाईका अनुसार करिब साढे १३ करोड लागतमा गोदावरी नगरपालिका कार्यालयको भवन निर्माण कार्य गत असोजमा सम्पन्न भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button