तपाईँ सुन्दै हुनुहुन्छः

टाइगर कप भलिबल प्रतियोगिता: महिला तर्फ पुलिस र आर्मीको जित 

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब र अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले महिलातर्फको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब स्तरीय च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हासिल गरेका छन् । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा आज बिहान भएको पहिलो खेलमा पुलिसले घरेलु टिम गण्डकी भलिबल सङ्घको टिमलाई ३—० को सोझो सेटमा पराजित गरेसँगै ३ अङ्क प्राप्त गरेको छ । यो जितसँगै पुलिसले आइतबार भएको खेलमा एपिएफसंग ३—२ को सेटमा हारेर पनि एक अङ्क प्राप्त गरी हालसम्म ४ अङ्क आफ्नो खातामा जम्मा गर्न सफल भएको हो । गण्डकीको भने पहिलो खेलमा सोझो सेटमा हार व्यहोरेकोले अङ्क प्राप्त गर्न सकेको छैन ।

पुलिसले गण्डकीलाई २५—१०, २५—९ र २५—१६ को सोझो सेटमा पराजित गर्‍यो । नेपालकै टिम कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीले तीन जना भारतीय खेलाडीहरू मैदानमा उतारे पनि समन्वय अभावले लज्जास्पद रुपमा पुलिससँग हार व्यहोर्नु पर्‍यो । त्यस्तै त्रिभुवन आर्मी क्लबले पाहुना टोली हरियाना टिम भारतलाई ३—२ को सेटमा पराजित गरेको हो । आर्मीले हरियाणा टिम माथि २५—२२, २०—२५, १८—२५, २५—१७ र अन्तिम सेटमा १५—१२ को सेटमा पराजित गरेको हो । आर्मीले ३ अङ्क प्राप्त गर्दा हरियाणाले १ अङ्क प्राप्त गरेको छ । 

पुरुष तर्फ आज भएको पहिलो खेलमा पाहुना टोली श्रीलङ्काको आर्मी टिमले नेपालको सशस्त्र प्रहरी बल एपिएफको टिमलाई ३—१ को सेटमा पराजित गरेको हो । श्रीलङ्काको आर्मी टिमले एपिएफ माथि पहिलो सेटमा २३—२५ पराजित भए पनि त्यस पछि सम्हालिएसँगै २५—१९, २५—२१ र २५—१३ को सेटमा पराजित गरेको हो । जितसँग पाहुना टोलीले २ अङ्क प्राप्त गर्दा एपिएफले आजको खेलमा १ सहित हिजोको खेलबाट ३ गरी ४ अङ्क प्राप्त गरेको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका संयोजक दीप कार्कीले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button