विद्यालय शिक्षा विधेयकमाथि विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
समितिको सिंहदरबारमा आज बसेको बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षकको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट मात्रै गरिनुपर्ने, विद्यालय तहमा अतिरिक्त क्रियाकलापका लागि छुट्टै शिक्षक दरबन्दी छुट्याइनुपर्ने, विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य गरिनुपर्ने व्यवस्थालाई शिक्षा विधेयकले समेट्नुपर्ने सुझाव दिनुभयो ।
विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष समिक बडालले विद्यालय शिक्षा विधेयले निजी लगानीको विद्यालय खोल्न नपाउने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने पाठ्यक्रम तयार गरिने कुरा विधेयकमा नै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले निजी विद्यालय सञ्चालकलाई समेत पाठ्यक्रम निर्माणमा सहभागी गराइने प्रावधान विधेयकबाट हटाउन सुझाव दिँदै शिक्षक नियुक्तको आन्तरिक प्रतिस्पर्धा खारेज गर्नुपर्ने प्रावधान विधेयकमा समेट्न सुझाव दिनुभयो ।
त्यसैगरी, नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाले विद्यार्थी आन्दोलनमा सहिद भएकाहरू बारे पनि पाठ्यक्रममा समावेश गर्ने गरी कानून बनाइनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा अधिकांश विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूले सरकारी कर्मचारी, जनप्रतिनिधि शिक्षक तथा सांसदहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने अनिवार्य व्यवस्था विधेयकमा गरिनुपर्ने सुझाव दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्