तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको उखु किसानलाई हातहातै भुक्तानी

महाेत्तरी I महोत्तरीको गौशाला नगरपालिका -१ रामनगरमा रहेको एभरेष्ट चिनी उद्योगले उखु उपलब्ध गराउने किसानलाई तत्कालै भुक्तानी  दिन थालेको छ । 

पुष ४ गतेबाट सञ्चालनमा आएको उद्योगले २४ गतेसम्म उद्योगलाई उखु दिने किसानको १९ करोड भुक्तानी गरी  सक्नुभएको छ ।

उद्योग सञ्चालनमा आएको २० दिनमा क्रसिङ भएको ९ लाख क्विन्टलभन्दा बढी उखुको मूल्य किसानलाई भुक्तानी गरिसकेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिका  प्रमुख प्रशासकीय जितेन्द्र कुमार मिश्रले बताउनुभयो।

नगदे बाली भनेर लगाएको उखु उधारो दिएर प्रत्येक वर्ष भुक्तानीका लागि आन्दोलन गर्न बाध्य किसान यस वर्ष हातहातै भुक्तानी पाएपछि खुसी भएका छन् ।गौशाला भरतपुरका जयनाथ महतो उखु दिएको ३ दिनमै उद्योगले भुक्तानी गरेको भन्दै खुसी छन् । उद्योगले हाताहाती भुक्तानी गरे किसानले छोड्दै गएको उखु खेती पुन बढ्ने उहाँ बताउँछन् । ‘उखु लिनेसाथै भुक्तानी गर्दा म मात्रै होइन, सबै किसानहरू उद्योगप्रति खुसी हुन्छन्,’ वहाँले भन्नुभयो, ‘भुक्तानी हुन थाल्यो भने यहाँबाट मात्रै होइन, अन्य जिल्लाबाट पनि उखु आइहाल्छ ।’

उद्योगले भुक्तानी दिने भएपछि महोत्तरीभन्दा बाहिरबाट समेत किसानले एभरेष्ट उद्योगलाई उखु उपलब्ध गराउन थालेका छन् । सर्लाही कविलासी अगर्बाका किसान राजनारायण महतोले यसै वर्षबाट एभरेष्टमा उखु ल्याउन थालेको बताउनुभयो । जिल्लाको चिनी उद्योगले भुक्तानी नदिएपछि आन्दोलन गर्दा गर्दै थाकेको उहाँको भनाइ छ ।

एभरेष्ट उद्योगले अघिल्लो वर्ष पनि किसानको भुक्तानी सहजै दिएको र यस वर्ष पनि किसानलाई हाताहाती भुक्तानी गर्छ भनेको सुनेपछि यस वर्षबाट उखु ल्याएको उहाँले  बताउनुभयो । भुक्तानीमै समस्याका कारण ५ बिघामा गर्दै आएको उखु खेती यस वर्ष २ बिघामा मात्रै गरेको उहाँको भनाइ छ । उद्योगका महाप्रबन्धक सुरेन्द्र प्रसाद सुक्ला किसानले उखुको मूल्य भुक्तानीमा समस्या खेप्दै गएपछि घट्दै गएको उखु खेती बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने अवस्था आएको बताउनुहुन्छ ।

किसानका गुनासा सुन्ने, समयमै समावेशी तवरबाट कटान पुर्जी दिने, उद्योग क्षेत्रमा आएका सवारीलाई नीतिगत तवरबाट सहज गरिदिने, उखु ल्याउने किसान र सवारी चालकलाई पनि र शौचालयको उचित प्रबन्ध गर्ने काम उद्योगले गरेको उहाँले बताउनुभयो ।

गत वर्ष एभरेष्ट उद्योगले २६ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगले २०७२/०७३ सम्म ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको महाप्रबन्धक सुक्लाले जानकारी दिनुभयो । सरकारले बाहिरी देशबाट चिनी आयात नगरे किसानलाई भुक्तानी गर्न उद्योगलाई समस्या नहुने सुक्ला बताउनुहुन्छ । ‘यस वर्ष भुक्तानीमा समस्या छैन । उद्योग सञ्चालन भइरहेको समयमै किसानले भुक्तानी पाइसक्छन्,’ वहाँले भन्नुभयो ।

“यता उखु किसान सरकारसँग असन्तुष्ट कायमै “

सरकारले यस वर्षको उखुको मूल्य एकलौटी तोकेको भन्दै किसानहरू सरकारसँग भने असन्तुष्ट छन् । किसानका माग सम्बोधन नगरी सरकारले चिनीको मूल्य निर्धारण गरेको भन्दै किसानहरूमा असन्तुष्टि रहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहले बताउनुभएको हो।

चिनी होलसेलमा ७० मा बिक्री गर्दा ५ सय ६५ मूल्य कायम गरेको सरकारले चिनी होलसेलमै सयमा बिक्री हुँदा पनि उखुको मूल्य निर्धारणमा किसानको माग सम्बोधन नगरेको कुशवाहले बताउनुभयो ।

सरकारले दिने उखुको अनुदान मूल्य दिन पनि सरकारले निकै ढिलाइ गर्ने गरेको किसानको गुनासो छ । गत वर्षको अनुदान मूल्य यस वर्षको कार्तिक महिनामा भुक्तानी दिएको भन्दै मूल्य तोक्न र अनुदान रकम दिन पनि सरकार अनुदार देखिएको उखु किसान रामछबिला महतोकाे गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button