रेडियो नेपालको आयोजनामा स्थलगत रेडियो बहस कार्यक्रम सम्पन्न
धनगढी । रेडियो नेपालको आयोजनामा आज धनगढीमा बसाँइसराइको अवस्था, चुनौती र व्यवस्थापन विषयक स्थलगत रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बसाइसराई व्यवस्थापनका लागि नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु मान बहादुर धामी, सन्तोष शर्मा थापा, प्रकाश बम, जानकी पौडेल कुवरले धारणा राख्नुभयो । उहाँहरूले पछिल्ला वर्षमा बसाइसराई तीव्र रुपमा भइरहेको र त्यसले सामाजिक, आर्थिक लगायतका क्षेत्रमा चुनौती थपिएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले बसाइसराई व्यवस्थापनका लागि सन्तुलित विकास आवश्यक रहेको बताउनुभयो । उहाँहरूले पहाडी क्षेत्रमा बस्ती रित्तिँदै गएको र तराई क्षेत्रमा बसोबास बाक्लिँदै गएकाले खेतीयोग्य जमिन खण्डीकरण, बन क्षेत्र अतिक्रमण जस्ता मानव सृजित समस्या बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका सचिवहरू, जनप्रतिनिधि, विषय विज्ञ, भूमि आयोग, सरोकारवाला निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलका निमित्त प्रमुख दानसिंह ऐरको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत उद्धव ढाँटले प्रकाश पार्नुभयो ।
यसपछि रेडियो नेपालले स्थलगत रेडियो बहस डोटी, डडेल्धुरा र अछाममा गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्