मुगुमा जनसङ्ख्या बढ्यो तर नुनको कोटा बढेन

मुगु । सरकारले मुगु आउने नुनको कोटा नबढाउँदा मुगालीहरुले पर्याप्त मात्रामा नुन पाउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मङ्गलवार बोलाइएको सर्वदलीय सर्वपक्षीय बैठकमा जनताले नुनको लागि सास्ती पाएको र आवश्यकता अनुसारको नपाएको गुनासो उठेको थियो ।
बैठकमा नेपाली काङ्ग्रेस मुगुका उपसभापति कर्ण बहादुर रावलले नुन दिँदा नागरिकताको फोटोकपी खोज्ने र स्वयम व्यक्ती उपस्थित हुने पर्ने र नङमा रङ्ग लगाउनु पर्ने प्रावधानले जनताले सास्ती पाउनुका साथै माग अनुसार नुन नपाउँदा कयौँ दिन अनिलो खाना खानु परेको गुनासो जनताहरूले सुनाउने गरेकाले नुनको कोटा बढाउन र माग अनुसारको नुन पाउने व्यवस्था गर्न पहल गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राज बहादुर मल्लले नागरिकता देखाएमा ५ पाकेट नुन पाइने र ५० रुपैयाँको ५ पाकेट मात्र नुन लिन सदरमुकाम बाहिरका जनताले ५ सय बढी खर्च गर्नु परेकाले वडाबाटै जनतालाई नुन वितरणको व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
नीतिगत रुपमा वडाहरूबाट नुन वितरणको प्रावधान भए आफूहरू वडाबाट वितरण गर्न तयार रहेको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहिले बताउनु भयो ।
बैठकमा आएका नुनको समस्या बारे आफू जानकार भएको र मुगुमा २०६८ सालको जनसख्यालाई आधार मानी प्रती व्यक्ती ५ पाकेटका हिसाबले कोटा निर्धारण गरि नुन उपलब्ध हुँदै आएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताउनु भयो ।
उहाँले भन्नुभयो नुनको कोटा २०६८को जनगणना अनुसार छ सरकारले २०७८ को जनगणना अनुसार कोटा निर्धारण गर्नु पर्छ। कोटा पुरानो जनसख्या नयाँ अनि कसरी मुगालीलाई नुन पुग्छ । त्यसैले २०७८को जनगणनालाई आधार मानी मुगु जिल्लाका लागि नुनको कोटा निर्धारण गर्न मन्त्रालय र साल्ट ट्रेडिङ्ग कर्पोरेसनलाई अनुरोध गर्दै सर्वपक्षीय बैठकबाट निर्णय गरेर पठाउन नै सर्वपक्षीय बैठकको आयोजना गरिएको हो ।
सरकारले मुगुका लागि २९७० क्युनटल नुन बार्षिक कोटा छु्ट्टयाउदै आएको छ । पालिका अनुसार हेर्दा खत्याड र सोरु गाउँपालिकाका लागि वार्षिक १ हजार ७७० क्युनटल र मुगुम कार्मारोङ्ग गाउँपालिका र छायानाथ रारा नगरपालिकाका लागि १ हजार २०० क्युनटल नुन बार्षिक कोटा छुटाएको देखिन्छ ।
जनगणना २०६८ अनुसार मुगुको ५५ हजार २८६ थियो भने २०७८ को जनगणना अनुसार मुगुको जनसख्या बढेर ६४ हजार ५४९ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्