विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।
विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौँ तहको क्याप्टेन पदमा बढुवा हुनुभएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबिन गर्दा निजले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।
शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिलअन्तर्गत भिएसजे इन्टर कलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्