विपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

दोधारा चाँदनी (कञ्चनपुर) । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभएको छ ।
आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताउनुभयो ।
“इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेश मन्त्रीसँग आग्रह गरेको छु ।” उहाँले दोस्रो युद्ध विराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पार्नुभयो ।
त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी विपिनको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ ।” उहाँले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गनुभयो ।
मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रूपमा अघि बढिरहेको दाबी गर्नुभयो । “अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो”, मन्त्री साउदले भन्नुभयो, “परराष्ट्र नीति छिमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलित रूपमा अघि बढिरहेको छ ।”
मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले विद्युत् खरिद गर्ने विषयमा दुई देशबीच सम्झौता भएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्