प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटको फाइनलमा नेपाल पुलिस र पर्सा ११ भिड्दै
वीरगञ्ज । वीरगन्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि पर्सा ११ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
प्रतियोगिता आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वण्डर क्लब नोयडा भारतलाई ४ रनले पराजित गरि नेपाल पुलिस फाइनलमा पुगेको छ भने यसअघि आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मीलाई हराउँदै पर्सा ११ फाइनलमा पुगेको हो ।

खेलमा नोयडाले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८ रन बनाएपछि पुलिस ८ रनले विजयी भएको हो । नोयडाका खेलाडी वंश बेदीले ४० बलमा ४३ रन बनाए भने अल्पित गुप्ताले १५ बलमा २० रन लिएका थिए । यस्तै सिद्धार्थ गोस्वामीले २० बलमा १३ रन र उजैर मल्लिकले १९ बलमा १२ रन बनाए । खेलमा पुलिसका बलर सागर ढकालले चार ओभरमा १७ रन दिएर तीन विकेट लिए ।
रसीद खानले चार ओभरमा २४ रन दिएर दुई विकेट लिए । यस्तै ललित राजवंशीले चार ओभरमा २० रन खर्चिएर एक विकेट र शेर मल्लले चार ओभरमा २१ रन दिएर एक विकेट पाए । यसअघि नेपाल पुलिस क्लबले वन्डर क्लब नोयडालाई एक सय १३ रनको लक्ष्य दिएको थियो ।
पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । खेलमा पुलिसका अर्जुन साउदले ३५ बलमा ४२ रन बनाए । अर्को खेलाडी सुनिल धमलाले ४५ बलमा ३४ रन बनाए । यस्तै दिलीप नाथले १३ बलमा १० रनको योगदान गरे ।
यसअघि आजै भएको पहिलो सेमिफाइनलमा पर्सा ११ ले आर्मीलाई ३१ रनले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्