मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्री परिषद् बैठकले हेटौँडा–२ मा रहेको जिल्लाकै पुरानो र उत्कृष्ट क्याम्पसलाई प्रदेश विश्व विद्यालयका रुपमा अघि बढाउने निर्णय गरेको हो । यस अघि बागमती प्रदेश सरकार मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि विभिन्न मापदण्डसहित आवेदन माग गरेको थियो ।
प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरूबाट आवेदन आवेदन माग गरेको थियो ।
प्राप्त आवेदनका आधारमा मकवानपुर बहुमुखी क्याम्पसको मापदण्ड तथा पूर्वाधार पुगेको हुँदा त्यसैलाई विश्वविद्यालय बनाउने निर्णय भएको मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बताउनुभयो ।
मुख्यमन्त्री जम्मरकट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराइने बताउनुभयो । उहाँले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषय अध्यापन गराइने योजना रहेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्