संस्कृत भाषाको संरक्षणमा राज्यले लगानी बढाउँछ : मन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ मा अवस्थित सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षणमा जोड दिन सके मात्र संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले राज्यले यसको संरक्षणका लागि लगानी बढाउने बताउनुभयो ।
संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्योतिष विज्ञान, धर्म कर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेको दाबी गर्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाई हुने विद्यालयहरूले पढाइको स्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सिन्धुपाल्चोकका तिन पालिकाबाट कक्षा १२ सम्म निःशुल्क शिक्षाको शुरुवात भइसकेको र निकट भविष्यमै देशभरि नै निःशुल्क गर्ने घोषणा गरिने बस्नेतले बताउनुभयो ।
आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि सबै अस्पतालका १० प्रतिशत शय्या विपन्नका लागि निःशुल्क गरिएको र सङ्घीय सरकार मातहतका साँढे तिन हजार जनरल बेड निःशुल्क गरिएको जानकारी उहाँले दिनुभयो । स्वास्थ्यमा लामो समयदेखि दरबन्दी नबढेकोले अबको आफ्नो ध्यान दरबन्दी सिर्जनामा लागेको जानकारी मन्त्री बस्नेतले दिनुभयो । चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर भए पनि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, पूर्व मन्त्री शेरबहादुर तामाङ लगायतका नेताहरूले पनि नेपालमा संस्कृत भाषाको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्