तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा पुस १० गतेदेखि हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन  ।  नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । चितवन हात्ती महोत्सवलाई रूपान्तरण गर्दै यहाँका व्यवसायीहरूले  पुष १० देखि पुस १४ गतेदेखि पर्यटन महोत्सव गर्न लागेका हुन् ।

आज सङ्घले पत्रकार सम्मेलनको आयोजना गरी चार बर्ष देखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गर्न लागेको जानकारी दिएको हो ।

कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएको र पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यसहित  महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयो  ।

विगतको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । पशु अधिकारकर्मीहरूले हात्तीलाई सास्ती दिएको भन्दै प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाइएको हो  । पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृगार प्रतियोगिता, हात्ती वनभोज र डुङा दौड प्रतियोगितालाई यथावत् राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।

शिथिल भएको  चितवनको पर्यटनलाई माथि उकास्न स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिनुभयो  । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग बि–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रबन्धनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताउनु भयो ।

महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुङा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो  । सफारी पर्यटनका हिसाबले परिचित सौराहालाई थप उचाइमा लैजान पर्यटन महोत्सवको रुपमा अगाडि बढाउन थालिएको उहाँको भनाई छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रवर्द्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका  छन् । ती मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ । कोरोनाकालमा सुस्ताएको सौराहाको पर्यटन यो वर्षको सिजन शुरु भएपछि चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरूले पर्यटन गतिविधि सुरु गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button