तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरू भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गर्नुभएको छ । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्था विरोधी शक्ति अत्तालिएको उहाँको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)ले काठमाडौँको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले सरकार बनेदेखि नै सरकारविरुद्ध लागेकाहरू अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताउनुभयो ।

“एक थरीले सरकार गठन भएदेखि नै नेपाल श्रीलङ्का बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे”, उहाँले भन्नुभयो, “तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरू विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन् ।”

व्यवस्था विरोधीले सङ्घीयता, धर्मनिरपेक्षता, जाति, वर्ग, क्षेत्र र लिङ्गका अधिकारविरुद्ध नै प्रहार गर्न पुगेका उहाँको भनाइ छ । सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका पक्षमा कानुन निर्माण गरेर सामन्तीको पीडाबाट हजारौँ जनतालाई मुक्ति दिन सफल बनेको बताउनुभयो ।

सुशासनका पक्षमा सरकारले महत्वपूर्ण कदम उठाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ठूलाठूला भ्रष्टाचारका काण्डको छानबिन अघि बढाइएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै नेपाली समाजमा देखिएका समस्या लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने दाबी गर्नुभयो । “कतिपय शक्ति व्यवस्थाविरुद्ध भ्रम छर्न, बदनाम गर्न लागिपरेका छन् । कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजा ल्याउने कुरा गरिरहेका छन्”, उहाँले भन्नुभयो, “तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरङ्कुशतन्त्र कदापि हुन सक्दैन ।”

प्रधानमन्त्री दाहालले सुकुम्वासी तथा भूमिहीनको समस्या समाधान गर्न निर्णायक पहलकदमी लिइएको जानकारी दिँदै वन तथा भूमिसम्बन्धी ऐन संशोधन गरेर लाखौँ सुकुम्वासीलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button