खुलाचौरमा पढ्दै दार्माका बालबालिका

सल्यान । सल्यानको दार्मा गाउँपालिकाका बालबालिकाहरू खुलाचौरमा पठनपाठन गर्दै आइरहेका छन् ।
गत कार्तिक १७ गते राति आएको भूकम्पले विद्यालयका भवन बस्नै नमिल्ने गरेर भत्किने र चर्किएपछि विद्यार्थीहरू खुलाचौर र केही पाल मुनी बसेर पठनपाठन गर्दै आइरहेका छन् ।
३३ सामुदायिक १ संस्थागत गरी ३४ विद्यालय मध्ये २१ विद्यालय भूकम्पबाट प्रभावित बनेका छन् । २१ मध्ये पनि ९ विद्यालयमा पूर्ण रुपमा क्षति भएको छ भने बाँकी १२विद्यालय पनि जोखिमयुक्त रहेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रोमप्रसाद पाण्डेयले जानकारी दिनु भयो । गाउँपालिका भित्रका नौवटा सामुदायिक विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । जसमा एक माध्यमिक विद्यालय, तीन निम्न माध्यमिक विद्यालय र पाँच वटा प्राथमिक विद्यालय रहेका छन् ।
गाउँपालिकामा रहेका ४ हजार ३ सय ६१ विद्यार्थीहरू भूकम्पबाट प्रभावित बनेको र खुला आकाशमा पढी रहेका छन् । उहाँले भन्नु भयो ‘विद्यालयका भवन भत्किएका छन् केही विद्यालयका भवन बस्नै नमिल्ने गरेर चर्किएका छन् , बालबालिकाहरू घरमा र विद्यालयमा दुवै तर्फबाट प्रभावित भएका छन् । ’
विद्यालयमा परिसरमा ५ वटा पाल टाँगेर विद्यार्थीहरूलाई पढाइरहेको दार्मा जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मीन बहादुर वलीले बताउनु भयो । भूकम्पले विद्यालयको तीनतले एउटा भवन चर्किएर बस्नै नमिल्ने भएको र सोही भवनका कारण अर्को भवन पनि जोखिममा परेकाले पालमुनि नै विद्यार्थी राखेर पठनपाठन थालिएको वलीले बताउनुभयो ।
अहिले बाल विकास, कक्षा १ र कक्षा ३ का विद्यार्थी पालमा बसेर पढ्दै आएका छन् । यस्तै कक्षा १२ मा अध्ययनरत विद्यार्थी चौरमा बसेर पढ्दै आएका छन् । उहाँले भन्नु भयो ‘भवन बस्नै नमिल्ने गरेर चर्किएका छन्, विशेषगरी चारवटा कक्षा प्रभावित भएका छन्, एउटा कक्षामा ५० जना बढी विद्यार्थी छन्, हामीले छ वटा पाल निर्माण गरेका छौँ, तर पाल साना भएकाले एउटै कक्षाका विद्यार्थीलाई समेत दुईवटा पालमा राखेर पठनपाठन शुरु गरेका छौँ’ ।
यस्तै कालिका आधारभूत विद्यालयका शिशु देखि कक्षा ५ सम्मका विद्यार्थी खुला आकाशमुनि पढ्दै आइरहेका छन् । विद्यालयका २ भवनका ५ कक्षा कोठा भूकम्पले भत्काएपछि विद्यार्थीलाई खुलाचौरमा पठनपाठन गराउँदै आइरहेको प्रधानाध्यापक प्रेम प्रकाश चन्दले जानकारी दिनु भयो । पालिकाबाट ३ वटा टेष्ट उपलब्ध भएको र आइतबारदेखि टेष्टभित्र केही कक्षालाई व्यवस्थापन गरिने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्