इलामको माइपोखरीमा त्रि–धार्मिक महाउत्सव

इलाम । धार्मिक सहिष्णुता कायम गर्दै माइपोखरी क्षेत्रको समग्र उन्नतिका लागि इलामको सन्दकपुर गाउँपालिका स्थित माइपोखरीमा बहुधार्मिक उत्सव सुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्वीहरुले साँझारुपमा उत्सवमा सहभागिता जनाएका छन् ।
हरिवोधनी एकादशीको अवसर पारेर आयोजित उत्सवमा तीन वटै धर्मका गुरुहरूले एकै मञ्चबाट प्रवचन दिनुभएको छ । मंसिर ८ गते समापन हुने धार्मिक उत्सवमा स्थानीयसहित टाढा टाढाबाट आउनुभएका श्रद्धालुहरूको उपस्थिति छ । वैदिक कालमा महादेव र पार्वतीको क्रिडास्थल रहेको धार्मिक मान्यता रहेको माइपोखरीमा विभिन्न धर्मालम्वीहरुले आफ्नो धर्मसँग जोडेर यस स्थानमा आस्था राख्ने गरेका छन् । नेपालमै मध्यपहाडी क्षेत्र एकमात्र रामसार क्षेत्रकोरुपमा सूचिकृत माइपोखरी क्षेत्र दुर्लभ गलैचे झ्याउ, ठकठके जस्ता लोपोन्मुख वनस्पति र जीवजन्तुका कारण पनि महत्वपूर्ण छ ।
समुन्द्र सतहबाट २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माइपोखरी इलाम सदरमुकामबाट १३ किलोमिटर उत्तरमा अवस्थित छ । माइपोखरीमा २०७० असार ८ देखि १० सम्म यस्तै बहु धार्मिक उत्सव सञ्चालन गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन्। इलाम सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरी पुग्न बिब्ल्याँटेबाट माइपोखरीसम्मको करिब ७० प्रतिशत सडक कालोपत्रे भइसकेको छ। कच्ची सडक पनि सहज रहेकाले आगन्तुकलाई यहाँसम्म आइपुग्न समस्या नभएको आयोजकले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्