तपाईँ सुन्दै हुनुहुन्छः

पशुपालनमार्फत आत्मनिर्भरको बाटोमा द्वन्द्व पीडित महिला

नेपालगन्ज । बर्दिया राजापुरका द्वन्द्व पीडित महिला पशुपालनमा लागेका छन् । पशुपालन गरेर उनीहरू आत्मनिर्भरको बाटोमा लागेका छन् । पशुपालनका लागि राजापुर नगरपालिकाले सहयोग गरेको छ ।

सशस्त्र द्वन्दमा पति गुमाउनुभएकी राजापुर नगरपालिका–५ बदालपुरकी अनिता थारुलाई राजापुर नगरपालिकाले जीविकोपार्जनका लागि दुई वटा भैँसी दिएको छ । बदालपुर गाउँकै अर्की द्वन्द्व पीडित महिला जुुगमानी थारुले पनि दुई वटा भैँसी पाल्नुभएको छ । उहाँको खोरमा दुई वटा बाख्रा पनि छन् ।

राजापुरका २० जना द्वन्द्व पीडित महिलालाई जीविकोपार्जनका लागि नगरपालिकाले जनही दुई(दुई वटाका दरले ४० वटा भैँसी दिएको छ । नगरका १५ द्वन्द्व पीडित महिलालाई बाख्रापनका लागि जनही पाँच वटाका दरले ७५ वटा पाठी पनि दिइएको छ । द्वन्दमा पति गुमाउनुभएकी राजापुर–५ की राजकुमारी देवी थारुले पनि बाख्रा पाल्नुभएको छ ।

राजापुर नगरपालिकाको आर्थिक वर्ष ०८०र८१ को वार्षिक नीति तथा कार्यक्रमको रोजगार तथा स्वरोजगार सम्बन्धि नीतिमा बेरोजगार, सहिद तथा बेपत्ता परिवार, द्वन्द्व पीडित, अति विपन्न समुदायका व्यक्तिहरूलाई आयआर्जन उद्यमशीलता तथा जीविकोपार्जन कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । उनीहरुलाई लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने पनि भनिएको छ । चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा सहिद तथा बेपत्ता परिवार, द्वन्द्व पीडित तथा अति विपन्न समुदायका व्यक्तिहरूको लागि आयआर्जन उद्यमशीलता तथा जीविकोपार्जन कार्यक्रमका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । यही रकमबाट भैँसी र बाख्रा वितरण गरिएको हो । त्यसैगरी शहीद तथा बेपत्ता परिवार, द्वन्द्व पीडित समुदायका व्यक्तिहरूको लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि सात लाख रुपैयाँ छुट्ट्याइएको छ ।

पशुपालन गर्ने द्वन्द्व पीडितको घरमा नियमितरुपमा निःशुल्क पशुको चेकजाँचको व्यवस्था मिलाएको नगर प्रमुख दीपेश थारुले बताउनुभयो । नगर प्रमुख थारुले एक जनाले दुई वटा भैँसी पाल्दा जिविकोपार्जनमा टेवा पुग्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button