भीरबाट लडेर बाबुको मृत्यु, आमा बिरामी, तीन छोराको बिचल्ली
मुगु । मुगुको सदरमुकाम गमगढी नजिकै रहेको चैन खोलाको भीरबाट लडेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका वडा नं ७ तलि घुईरकाका ३४ वर्षीय डिसियम नेपाली भएको प्रहरीले जनाएको छ ।
मृतक नेपाली बिहीबार बेलुका खाने नुन लिएर घर जाँदै गर्दाको अवस्थामा एक्कासी चिप्लिएर भीरबाट लडेको प्रहरीले बताएको छ । भीरबाट लड्ने बित्तिकै स्थानीय र प्रहरीले नेपालीलाई उद्धार गरि जिल्ला अस्पताल ठिनी पुर्याएको थियो । जिल्ला अस्पताल ठिनीमुगुमा उपचार सम्भव नभएपछि नेपालीलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरेकोमा जुम्ला लैजाँदै गर्दा निजको बाटैमै मृत्यु भएको स्थानीय जयबहादुर नेपालीले बताउनुभयो ।
घरमुलीका रूपमा रहेका बाबु डिसियमको मृत्यु भएपछि साना तीनजना बालकहरूको बिचल्ली भएको छ । आमा इश्वरमति नेपाली बिरामी भई लामो समयदेखि ओच्छ्यानमै थलिएपछि बाल बच्चाको स्याहार बाबुले गर्दै आएका थिए । हाल साना बाल बच्चालाई बिहान बेलुका खाना खानसमेत मुस्किल रहेको आफन्त जयबहादुर नेपालीले बताउनु भयो । ज्यालामजदुरी गरी बच्चाको पालन पोषण गर्दै आएका बाबुको निधन पछि तीन जना साना बाल बच्चाहरू बेसहारा जस्तै बनेका छन् । ‘दलित समुदायका कलिला बेसाहारा जस्तै बनेका ती बालबालिकाहरू अब कसले स्याहार गर्ने हो थाहा छैन ।’, स्थानीय जयबहादुर नेपालीले भन्नुभयो । ‘कुनै संस्थाले पढाउने जिम्मा लिइदिए उनीहरूलाई ठुलो राहत मिल्ने थियो’, नेपालीले बताउनु भयो । मृतक डिसियमका एक श्रीमतीसहित १२ वर्षका छोरा सागर नेपाली, ९ वर्षका छोरा महेश नेपाली र ४ वर्षका छोरा सुजन नेपाली बेसहारा जस्तै भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्