तपाईँ सुन्दै हुनुहुन्छः

गमगाड खोलामा पक्की पुल छैन, गाडी तर्न लाप्काकै भर 

मुगु । गमगढी नाक्चे लाग्ना सडक अन्तर्गत  छायाँनाथरारा नगरपालिका वडा नं १ अल्कासाँघु भन्ने स्थानमा स साना गाडीहरू काठको लाप्काको भरमा   ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको छ । मुगुको सदरमुकाम गमगढी बाट मुगुम कार्मारोङ गाउँपालिका  छाइल सम्म सामान्यतय गाडी आउने जाने भएपनि  गमगाड खोलामा  पक्की पुल हाल सम्म नबन्दा   गाडीहरू लाप्को बाट खोला पार गर्नु पर्ने बाध्यता रहेको  छ ।   

सडक डिभिजन कार्यालय जुम्लाले  अल्का साँघु भन्ने स्थानमा पक्की पुल बनाउने भनेपनि हाल सम्म पुल बनाउने तिर कसैको ध्यान नगएको स्थानीय बासिन्दाले बताएका छन्  । वर्षाको समयमा गमगाड खोलामा पानीको बहाव बढ्ने हुनाले   त्रास पूर्ण वातावरणमा स्थानीयले  लाप्को तरेर खोला पार गर्ने गर्दछन् । यसका अलावा पशुचौपाय, समेत जोखिम मोलेर खोला तर्नु  पर्ने बाध्यता रहेको छ ।  

गाई बस्तु मात्र हैन साना स्कुले बालबालिका हरू समेत लाई स्कुल आउजाउमा समस्या  हुने गरेको  अभिभावकहरू बताउनु हुन्छ ।  गत बर्ष  गमगाड खोलामा विनाशकारी बाढी आउँदा गमगाड खोलाका विभिन्न ठाउँका  दर्जनौँ काठे र बिराचौर र चाट्टेबगरका गरी २ वटा फलामे झोलुङ्गे पुल दर्जनौँ पानी घट्ट  खेत गडा बाढीले बगाएर क्षति पुर्‍याएको थियो । गमगढी आउन र जान समस्या भएपछि  अल्का साँघुमा भने छायाँनाथरारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको अगुवाइमा स्थानीय युवा नगर प्रहरी सरकारी कर्मचारीले जनश्रमदान गरि काठको  साँघु बनाएका थिए ।  

केही दिन काम चलाए पनि टिकाउ नभए पछि पुन छायाँनाथरारा नगरपालिका मुगुको आर्थिक सहयोगमा खोलामा काठका लाप्का   राखेर गाडी आवत जावत गर्ने  कामचलाउ खाले  योजना निर्माण  गरेपछि  हाल साना गाडीहरू त्यही लाप्को तरेर मुगुको सदरमुकाम गमगढी आउजाउमा सहजता भएको छायाँनाथरारा नगरपालिका वडा नं १ का अध्यक्ष पद्मराज मल्लले बताउनु भयो ।  यथाशीघ्र गमगाढ खोला अल्का साँघुमा पक्की पुल निर्माणका लागि काम अघि बढाउन स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई   अनुरोध गरेका छन् ।  

सडक विभागको पुल महाशाखा काठमाण्डौले कालिकोट देखि मुगु सम्म दस ओटा पुल निर्माणका लागि आर्थिक बर्ष २०७७/०७८मा टेण्डर आह्वान गरेको  सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर चित्रा चौलागाईले बताउनु भयो  दश ओटै पुल बनाउने  जिम्मा एउटै कम्पनीको भएकाले  गाँठे बाहेक अन्य स्थानका पुलहरूको  निर्माण अघि बढिसकेको र  गमगाड खोलामा पर्ने अल्का साँघुको पुल निर्माण प्रक्रिया केही हप्तामै सुरु हुने पनि सूचना अधिकारी चौलागाईले बताउनु भयो । करिब ३ करोड रूपयाँको लागत  रहेको पुल निर्माणका लागि हिम सगरमाथा निर्माण कम्पनीले जिम्मा लिएको बताइएको छ ।

टेण्डर भएको ३ वर्षमा  दश वटै पुल निर्माण गरिसक्नु पर्ने भएका कारणले   डिजाइनमै  बढी समय लागेको कारण पुल निर्माणको काम अलि ढिलो भएको पनि चौलागाईले बताउनु भयो ।  कालिकोट र जुम्लाको सिमाना कालिका खेत, देखि देखि मुगुको भ्यारी खोला, गमगाड खोला र  गाँठेमा गरी दश ओटै पुलहरू निर्धारित समयमा नै निर्माण कार्य पूरा गरिने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button