तपाईँ सुन्दै हुनुहुन्छः

बरघरको सहयोगले न्यायिक समितिलाई सहज भएपछि ‘बरघर ऐन’ बनाइँदै

नेपालगन्ज । थारु समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । जसका कारण पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको छ ।  

थारु समुदायको बाहुल्यता भएको बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सामाजिक रूपमा थारु समुदायका अगुवा र निर्णायक मानिने बरघरको सहयोगले गाउँपालिकाको न्यायिक कार्य सहज र प्रभावकारी बन्दै गएको बताउनुभयो ।

उहाँले बरघरको कुरा समाजले मान्ने भएकाले उहाँहरूको सहयोगले न्यायिक समितिको काममा ठूलो सहयोग पुगेको बताउनुभयो ।  ‘थारु समुदायमा रहनुभएका बरघरहरूले गर्दा हाम्रो पालिकामा रहेको न्यायिक समितिलाई काम गर्न सजिलो भएको छ,’ उपाध्यक्ष रोकायले भन्नुभयो ।  

थारु समुदायमा हुने धेरै विवादहरू गाउँमै बरघरले हल गर्ने भएकाले समितिसम्म उजुरीहरू कमै मात्रामा आउँछन् । आएका उजुरी सल्टाउन पनि बरघरको सहयोग पाउँदा सहज रूपमा सल्टिने गरेको रोकायको भनाई छ ।

थारु समुदायबाट परेका उजुरीमा बरघरबाटै समस्या समाधान हुने भएकाले न्यायिक समितिलाई काममा धेरै सहज भइरहेको गाउँपालिकाले जनाएको छ । बैजनाथ गाउँपालिकामा बरघर ऐन लागू गर्ने तयारी भइरहेको उपाध्यक्ष रोकायले जानकारी दिनुभयो । ‘पालिकामा बरघर ऐन लागू गर्न छलफल भइसकेको छ । बजेट पनि विनियोजन गरिएको छ, छिट्टै बरघर ऐन लागू गर्नेछौँ,’ उहाँले भन्नुभयो ।

बर्दियाको बारबर्दिया नगरपालिकाले मात्र यस क्षेत्रमा बरघर ऐन लागू गरेको छ । बारबर्दियाको अनुभवले पनि काममा सहज हुने जनाइएको छ । बैजनाथमा बरघर ऐन लागू गर्न थारु राष्ट्रिय आयोगले ‘बरघर ऐन तथा समावेशिता’ विषयमा एक कार्यक्रम समेत आयोजना गरिसकेको छ ।

कार्यक्रममा ‘बरघर ऐन तथा समावेशिता’ को विषयमा समुदायस्तरमा गहन रूपमा छलफल गरिएको थारु राष्ट्रिय आयोगका सदस्य सुबोधसिंह थारुले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button