भूकम्पका घाइते भन्छन्– भाग्यले पुनर्जीवन त पायौं,आफन्त गुमाउँदाको पीडा कसरी बिर्सने ?

बाँके । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचार नेपालगन्जको भेरी अस्पतालमा चलिरहेको छ।
भूकम्प जाने बित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसँगै थुप्रै मानिसहरू घाइते हुनुभएको थियो।
बाँकेबाट दसैं मनाउन जाजरकोट खलङ्गा पुग्नुभएको बैजनाथ गाउँपालिका ४ बानियाभारकी २२ वर्षीया इसा शाहलाई शुक्रवारको रात जीवनकै त्रासदिपुर्ण र भयानक बन्यो।
मामाघरबाट दिदीबहिनीसँग रमाइलो गर्न खलङ्गाबाट केही पर थाप्लेस्थित सानिमाको घरमा गएको बेला शुक्रबार राति जाजरकोट केन्द्र बिन्दु भएर भूकम्प गयो।
निन्द्राबाट बिउँझिए पछि भूकम्पले निदाएकै बेला घरको छानो शरीरमाथि खसेको अवस्थामा बिउँझिनु भएकी गिता होसमा आउँदा सँगै सुतेका तीन दिदी, ठुलीआमा र सानिमाका छोरी मेरिना, आरसी, गुर्जा सिङ र उपासना सिंह भने अस्ताइसकेका थिए।
झण्डै दुई घण्टा पछि उद्धार गरी जाजरकोटबाट थप उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पताल पुर्याएको इशालाई अहिले त्यो घटनाले बिछिप्त बनाइरहेको छ।
सानोभेरी–४ रुकुम पश्चिमकी नमिता खड्का पनि मस्त निन्द्राबाट भूकम्पको झड्का सँगै शरीरमा केही खसेको जस्तै लागेपछि मात्र बिउँझिनु भयो।
घर भत्किदा निकै चोट लागेको अवस्थामा आफूलाई पाएकी खड्काले नौ वर्षको छोरा निर्जल चन्दलाई गुमाउन पुगिन । मुस्किलले बाँचेकी नमिताको चार महिनाको कान्छो छोरा पनि घाइते अवस्था छन् । भूकम्पको भग्नावशेषमा छोरा रोइरहेको बेला होस आएकी नमिताको पनि भेरी अस्पतालमा उपचार भइरहेको छ।
जाजरकोट रिम्नाकी २६ वर्षीया कृष्णा परियार भूकम्पले घर भत्किँदा पुरिएका थिए । साना नानी र बाबुले बचाउ बचाउ भन्दै चिच्याउँदै थिए । भूकम्प आएको चाल पाएपछि एक झट्कामै घर भत्किएपछि बाहिर भाग्न नसक्दा उहाँको सात वर्षीया छोरी र छ वर्षका छोरा घाइते हुनुभएको छ। भूकम्पले घर भत्काउँदा चोट लागेपछि उहाँका ससुराको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने श्रीमान् भारतमा हुनुहुन्छ ।
कर्णाली प्रदेशको उच्च पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पमा परि घाइते भएका ३९ जनाको अहिले बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि ल्याइएका एक जनाको ल्याउँदा ल्याउँदै बाटोमै निधन भए पनि अरू घाइते सबैको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको चिकित्सकहरूले बताउनुभएको छ। घटनामा आफन्त गुमाएकाहरू यतिबेला अस्पतालमा उपचाररत रहेपनि आफन्तकै शोकमा देखिनुहुन्छ।
भाग्यले आफूहरूले पुर्नजिवन पाएको भएपनि धनजन गुमाउँदाको पीडा उत्तिकै छ । चाँडै निको भएर घर फर्किने आशमा रहेका भूकम्प पीडितहरू शुक्रबार मध्यरातको त्रासदीलाई जीवनकै एक कालो दिनकोरुपमा बिर्सने प्रयासमा छन् ।








प्रतिक्रिया राख्नुहोस्