प्रकृति संरक्षणका क्षेत्रमा कोषको महत्वपूर्ण योगदान : मन्त्री महतो
काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जैविक विविधता र प्रकृति संरक्षणका क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज आयोजित ४१ औ वार्षिकोत्सव समारोहमा वन तथा वातावरणमन्त्री डा. महतोले कोषले प्रकृति संरक्षणसँगै विज्ञहरू उत्पादनमा सहयोग पुर्याएको बताउनुभयो ।
मन्त्री डा. महतोले प्रकृति संरक्षणसँगै पर्यटन क्षेत्रमा समेत सहयोग पुगेको बताउँदै जीवजन्तुको संरक्षणसँगै यसले पुर्याउने क्षतितर्फ पनि सोच्नुपर्ने बताउनुभयो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले नेपालको पारिस्थितिक प्रणाली तथा जैविक विविधता र प्राकृतिक सम्पदा संरक्षण चुनौतीपूर्ण रहेको बताउनुभयो ।
समिति सभापति राणाले प्रकृति संरक्षण चुनौतीपूर्ण रहेपनि कोषले गरिरहेको जैविक विविधता संरक्षणमा समुदायको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो ।
मुख्यसचिव बैकुण्ठ प्रसाद अर्यालले प्रकृति संरक्षण र जैविक विविधता संरक्षण चुनौतीपूर्ण रहेको बताउँदै नेपालले गरेको संरक्षण प्रशंसायोग्य रहेको धारणा राख्नुभयो ।
मुख्यसचिव अर्यालले प्रकृति संरक्षणमा तीनै तहबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको पनि औँल्याउनुभयो ।
कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले प्रकृति संरक्षणमा कोषले आफ्ना कामहरू निरन्तर जारी राखेको र यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कोषले वार्षिक समारोहमा प्रकृति संरक्षणमा योगदान गर्ने व्यक्तित्वलाई संरक्षक संरक्षण सम्मान गर्नुका साथै कोषमा ३० वर्ष सेवा पूरा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदकले सम्मान गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्