पाल्पामा एक जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि
पाल्पा । पाल्पामा एक जना पुरुषमा जापानिज इन्सेफ्लाइटिस रोग पुष्टि भएको छ । बगनासकाली–२, पोखराथोकका ५६ वर्षीय पुरुषलाई जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा एक दशकपछि यो रोग फेरि देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । एक खालको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग सङ्क्रमित पुरुषको हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित व्यक्तिमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, काप्ने, दिग्भ्रमित हुनेजस्ता समस्या देखिन्छ । पछिल्लो एक दशकयता यो रोग देखिएको थिएन । जापानिज इन्सेफ्लाइटिस रोग देखिएपनि स्थलगत निरीक्षण गरिएको र लक्षण देखिएको मानिसका बारेमा जानकारी लिइएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो ।
जापानिज इन्सेफालाईटिस भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग गर्ने डा. गिरीले बताउनुभयो । यो भाइरसबाट सङ्क्रमित सुँगुर–बङ्गुर, हाँस तथा जङ्गली पक्षीलाई टोकेपछि लामखुट्टे सङ्क्रमित हुने र सोही लामखुट्टेले मानिसलाई टोक्दा रोग लाग्ने उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्