रिगल विरुद्धको मुद्दा अर्को इजलासमा पठाउन आदेश
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासले रिगल ढकाल विरुद्धको मुद्दा अर्को इजलासमा पठाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश श्रेष्ठसहितको पूर्ण इजलासले यस्तै प्रकृतिको मुद्दामा आफूहरूले यसअघि नै फैसला गरिसकेको र नजिरका रुपमा रहने भएका कारण मुद्दा हेर्न नमिल्ने भन्दै फरक न्यायाधीशको पूर्ण इजलासमा पेस गर्न आदेश दिएका हो ।
प्रधानन्यायाधीश श्रेष्ठसहितको पूर्ण इजलासले खाजा समय अगाडिसम्म रिट निवेदक र सरकारका तर्फबाट बहस सुनेको थियो । खाजा समयपछि बसेको इजलासले रिगल विरुद्धका मुद्दा आफूहरूले हेर्न नमिल्ने भन्दै आफूहरू बाहेकको पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । रिगलविरुद्धको सो मुद्दामा कात्तिक १४ गतेलाई पेशी तोकिएको छ ।
सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई बाँकी कैद कट्टा गर्न वा सजायमा छुट दिन नमिल्ने भन्दै मृतक चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।
संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका रिगल ढकाललाई बाँकी कैद कट्टा गरी जेलमुक्त गर्नुभएको थियो ।
कारागार कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङ, कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकबाट रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को सो निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले सदर गर्नुभएको थियो ।
बाँके जिल्ला अदालतको फैसला अनुसार रिगलले २०९२ भदौ ७ गतेसम्म जेलमा बस्नुपर्ने थियो ।








प्रतिक्रिया राख्नुहोस्