तपाईँ सुन्दै हुनुहुन्छः

स्मार्ट हुलाक आजको आवश्यकता : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना र प्रविधिको उच्चतम विकास भएको सन्दर्भमा पनि हुलाक सेवाको औचित्य समाप्त नभएको बताउनुभएको छ । 

एक सय ४९ औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले स्मार्ट हुलाक सेवा आजको आवश्यकता भएकाले यसको पुनर्संरचना गरिनुपर्नेमा जोड दिनुभयो । 

यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले हुलाकका अनावश्यक संरचना व्यवस्थापन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी सरकारले काम अघि बढाएको पनि जानकारी गराउनुभयो । 

एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रम कार्यान्वयन भइरहेको बताउँदै मन्त्री शर्माले हाल राहदानी ढुवानीका लागि हुलाक सेवाको प्रयोग सुरु भएको पनि जानकारी गराउनुभयो । 

कार्यक्रममा गोस्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख हुलाक अधिकृत राजु कुँवरले हुलाक सेवालाई समयसापेक्ष बनाउन जरुरी भएको बताउनुभयो । 

यस अवसरमा नेपालको हुलाक सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button