रुगा गाउँमा एक घर एक धारा, समाधान भयो सदियौँकाे समस्या

मुगु गमगढी । मुगु जिल्ला छायाँनाथरारा नगरपालिका वडा नं १३ स्थित रुगा गाउँमा एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा रुगा गाउँमा एक घर एक धारा निर्माण गरिएको छायाँनाथरारा नगरपालिका नगर प्रमुख बिष्या कुमार भामले जानकारी दिनुभयो ।
अधिकांश दलित बाहुल्यता भएको उक्त गाउँमा १ सय ५८ वटा खानेपानीको धाराहरू निर्माण गरी खानेपानी वितरण गरिएको हो । भिरालो र सुख्खा जमिन भएको गाउँ नजिक कुनै पानीका मुहान नहुँदा उक्त गाउँका मानिसहरू वर्ष वर्षदेखि गाउँ मुनि आधा घण्टा हिँडेर मुगु कर्णाली नदीको धमिलो र फोहोर पानी खाँदै आएका थिए ।

घरघरमा धारासहित शुद्ध खानेपानी उपलब्ध भएपछि स्थानीय बासी यत्तिखेर दङ्ग छन् । स्थानीय अगुवा बलबहादुर थापा गाउँमा खानेपानी आएदेखि आफूहरूलाई धेरै सहज भएको बताउनुहुन्छ । पानीको अभावमा आफूहरूले तरकारी खेती गर्न नपाएको भन्दै अब उक्त समस्या समेत समाधान हुने उहाँले बताउनुभयो । हामी महिलाहरूलाई लुगा धुन, भाँडा सफा सुग्घर गर्न, नुहाउन र बाल बच्चालाई सफा सुग्घर गर्न पानी बढी नै चाहिने भएकाले पानी बोक्न सारै समस्या हुने गरेको थियो, अव धेरै सजिलो भयो’, गाउँकै स्थानीय महिला हरिकन्या नेपालीले भन्नुभयो । आफ्नै खेत बारीमा तरकारी खेती गरेर अब आम्दानी समेत गर्न सहज हुने उहाँले बताउनुभयो ।
पानी नभएका कारण मनमा इच्छा, जोस र जाँगर हुँदा पनि कागती सुन्तला, केरा, लगायत अन्य फलफूल खेती गर्नबाट वञ्चित हुँदै आएको भएपनि अब गाउँमा खानेपानी आएपछि व्यवसायीक फलफूल तथा तरकारी खेतीमा लाग्ने गाउँका धेरै युवाहरूको भनाई छ । करिब साढे सात किलो मिटर टाढाबाट ल्याइएको खानेपानीको कुल लागत ३८ लाख ३४ हजार ४६ रुपियाँ रहेको बताइएको छ ।
अति न्युन आयस्रोत भएका दलित समुदायमा एकघर एक धारा अभियानले ब्यबसायिक फलफूल तथा तरकारी खेतीबाट आयआर्जनमा टेवा मिल्ने सम्भावना रहेको देखिन्छ । गाउँमा बनेको खानेपानीको अनुगमन गर्न सोमवार जिल्ला समन्वय प्रमुख मंन्जन बहादुर कार्की, नगर प्रमुख बिष्णु कुमार भाम, नगर उपप्रमुख ऐश्वर्य मल्ल, निमित्त प्रमुख जिल्ला अधिकारी रबिन्द्र ओखेडा, पत्रकार महासंंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही लगायत संचारकर्र्मीहरुको टोलीले खानेपानी योजनाको अनुगमन गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्