तपाईँ सुन्दै हुनुहुन्छः

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताउनुभएको छ ।

नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिक रूपमा सम्पन्न बनाएको बताउनुभयो ।

मुलुकमा कुनै वर्गमाथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले त्यस्तो कार्यविरुद्ध सबै एकजुट भई एकापसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रुपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

देशको हरेक परिवर्तन सफल पार्न सो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउँदै उहाँले उनीहरूको आर्थिक, सांस्कृतिक र सामाजिक रूपान्तरण अपेक्षाकृत रूपमा हुन नसकेकाले अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button