गुनासो डेस्क स्थापना गर्दै कास्की जिसस

पोखरा । जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ । कास्कीका स्थानीय तहमा सञ्चालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानीय तहका काम प्रभावकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा व्यवस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको हो ।
कास्कीका बिकास आयोजनामा हुन सक्ने सम्भावित कमी कमजोरीलाई न्यूनीकरण गर्न तथा जिल्लाका कार्यालयहरूको समीक्षा समन्वय गर्दै कामलाई चुस्त दुरुस्त राख्न गुनासो तथा उजुरी डेस्क स्थापना गर्न लागिएको जिसस प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो । सो डेस्क मार्फत कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ र बिकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट लिखित ,मौखिक र विद्युतीय रूपमा प्रदान गर्ने व्यवस्था गरिने छ ।

प्रमुख पौडेलले सुशासन बिना बिकास सम्भव नहुने र बिकास बिना समृद्धि सम्भव नहुने हुँदा देश र जनताको समृद्धिका खातिर हर तवरबाट सबै पक्ष लाग्नुको विकल्प नभएको बताउनुभयो । विकासका लागि छुट्याइएको बजेट पूर्णरूपमा उपयोग होस भन्ने हेतुले यस्को व्यवस्था गरिएको उहाँको भनाई छ । कहीँ कतै ढिलासुस्ती र अनियमितता भएको देख्न सुन्न नपर्ने गरि कास्कीका कार्यालय प्रमुख र राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सबैले समन्वयात्मक तवरले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एक कार्यक्रमका अवसरमा सोमबार रूपाताल संरक्षण एकीकृत बिकास परियोजना, खानेपानी तथा ढल निकास आयोजना पोखरा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा, संघीय आयोजना कार्यान्वयन इकाई, स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय, सडक डिभिजन पोखरा, पुष्पलाल मध्य पहाडी सडक आयोजना, मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड, पुल सेक्टर पोखरा र संघीय पूर्वाधार बिकास कार्यालय लगायतले वार्षिक समीक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्