भासिएको पुलबाट जोखिम मोलेर भेरी नदी वारपार गर्दै सल्यानका स्थानीय

सल्यान । सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाड नजिकै भेरी नदीस्थित झोलुङ्गे पुल भासिएको एक बर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । गत बर्ष अविरल वर्षाका कारण पुल भासिएपछि बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेल गायत जाजरकोटका झन्डै ३ सय परिवार जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।
पिलर भासिएपछि झोलुङ्गे पुलको बीच भागले भेरी नदी छोएपनि पनि अर्को विकल्प नभएपछि भासिएकै पुलबाट स्थानीय हिँड्न बाध्य छन् । स्थानीयलाई पालिकाको मुख्य बजार सल्लीबजार, जाजरकोटको शिवालय गाउँपालिकास्थित छेडाबजार जान पनि समस्या भएको स्थानीय गोपीलाल आचार्यले जानकारी दिनुभयो । पिलर भासिएका कारण दैनिक उपभोग्य वस्तु तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन पनि ओसारपसार गर्न समेत समस्या हुने गरेको उहाँको भनाई छ ।

२०७२ सालमा बीबीएलएल नामक संस्थाले १ सय ५७ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरेको थियो । भासिएको पुल पुन निर्माण गर्न कसैको पनि ध्यान नदिएको स्थानीयको भनाई छ । पुल भासिएपछि मजदुरी गर्न छेडा र सल्लीबजार जानेहरू समस्यामा परेको स्थानीय लिलु खत्रीले बताउनु भयो । मर्मत गर्ने तिर कुनै निकायले वास्ता नगरेको उहाँको आरोप छ । उहाँले भन्नु भयो आजभोलि वर्षाको समय छ । पुलले भेरी नदी छोएको छ । साना बालबालिका र वृद्धवृद्धाहरुलाई वारपार गर्न निकै समस्या हुने गरेको छ । वर्षाले पुलको पिलर भासिदा पुल निकै ठाँडो भएको जसका कारण सामान बोकेर हिँड्न निकै सकस हुने गरेको उहाँले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्