प्रतिनिधि सभामा विविध समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले देशका विभिन्न भागमा हावाहुरी, बाढी र पहिरोले पुर्याएको क्षति, पीडितको उद्धार तथा राहत, सडक अवरुद्ध र सीमा नाकाको सुरक्षा लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सांसदहरुले देशका विभिन्न भागमा बढी र पहिरोका पीडितहरूलाई समयमा नै उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसदहरुले कर्णाली राजमार्गमा दुर्घटना न्युनिकरण हुन नसकेको कारण सयौँ मानिसले ज्यान गुमाउनु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै यसको स्तरोन्नति र दुर्घटना न्युनिकरणका लागि पहल गर्न आग्रह गर्नुभयो ।
सांसदहरुले नेपालको क्रिकेट खेलाडीलाई सरकारले दिन्छु भनेको रकम समयमा नै दिनु पर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले सीमा क्षेत्रमा सीमा स्तम्भ हराइरहेको र बाढीले सीमा स्तम्भ बगाउदा पनि समयमा सम्बद्ध पक्षको ध्यान जान नसकेको भन्दै सरकार सीमा स्तम्भ संरक्षणमा गम्भीर बन्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी बैठकको विशेष समयमा सांसदहरुले दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि आकासिएको भएपनि सरकारले बेवास्ता गरेको र मूल्यवृद्धि नियन्त्रण तर्फ कुनै पनि तहको सरकारले ध्यान दिन नदिएको बताउनुभयो ।
सांसदहरुले चीनसँगको तातोपानी नाका मानिस आवतजावतका लागि खुल्ला भएकाले सडक स्तरोन्नति समयमा नै गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विमानस्थलमा अपमान खेप्नु परिरहेको विषय र वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्यालाई ध्यान दिएर समाधानका लागि काम गर्नु पर्ने तर्फ सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्