तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार अन्त्य र सुशासन स्थापित गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सुशासन स्थापित गर्न सरकारले कुनै कुराको सम्झौता नगर्ने बताउनुभएको छ । 

आज शुक्रबार समाजवादी मोर्चाको गण्डकी स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार अन्त्य र सुशासन स्थापित गर्नको लागि सरकारले पहिलो प्राथमिकता दिएर काम गरेको बताउनुभयो । उहाँले कुनै पनि भ्रष्टाचार र अनियमिततामा जुन सुकै राजनीतिक दलका नेता भए पनि उन्मुक्ति नदिने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका मान्छेहरूको सेटिङ भएको बताउँदै सुन तस्करीमा संलग्न कसैलाई पनि नछोड्ने बताउनुभयो । “सेटिङ नभईकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, यसमा संलग्न जुनसुकै राजनीतिक दलको भएपनि छाडिँदैन”। गैरकानुनी रुपमा नेपाल भित्रिएको ६० किलो सुन प्रकरणको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको र छिट्टै निष्कर्षमा पुग्न लागेको पनि उहाँले बताउनुभयो ।

चीन भ्रमण ऐतिहासिक उपलब्धिमूलक बनाउने
प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा आफूले महत्वपूर्ण विषय उठान गर्ने बताउनुभएको छ । आफ्नो चीन भ्रमण लाई ऐतिहासिक उपलब्धिमूलक बनाउने बताउनुभएको हो । 

उहाँले चीन भ्रमणको एजेन्डाबारे बोल्दै पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा नियमित उडान भर्नेबारे छलफल गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले ची भ्रमणका क्रममा धेरै विद्युतीय आयोजनाका विषयमा पनि कुरा उठाउने बताउनुभयो ।  

उहाँले ‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भएको बताउँदै पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्ने बताउनुभयो ।

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताउनुभएको छ । आज (शुक्रबार) पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उक्त प्रकरणमा माधव नेपालको संलग्नता नरहेको पुष्टि गरेसँगै अब नेता नेपाल सदाका लागि निर्दोष सावित भएको बताउनुभयो । “ललिता निवास जग्गा प्रकरणमा सिआईबीले माधव जी सँग पनि स्पष्टीकरण सोध्ने तथा अनुसन्धान गर्ने काम गर्‍यो, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, अनुसन्धानका क्रममा उहाँ दोषी देखिनुभएन, अब उहाँ सदाको लागि निर्दोष सावित हुनुभयो”। उहाँले माधव नेपाललाई अब ललिता निवास जग्गा प्रकरणमा तनाव हटेको र समाजवादी मोर्चामा रहेको हुँदा आफूलाई पनि तनाव हटेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button