समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

ललितपुरको सैँबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासको आज उद्घाटन गर्दै उहाँले राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उद्घोष गर्नुभयो ।
प्रधानमन्त्री दाहालले प्रदेशहरूलाई प्रभावकारी बनाउन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नवनिर्मित भवनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले संविधानको प्रभावकारी कार्यान्वयन गर्न र राजनीतिक स्थिरता र स्थायित्वको वातावरणलाई अझ राम्रोसँग अगाडि बढाउन तथा सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसको संस्थागत विकासका निम्ति नवनिर्मित भवन उदाहरणीय हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारले समन्वय र सहकार्यका साथ जनतालाई छिटो छरितो र सहज ढङ्गले सुविधा दिलाउनेतर्फ सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले नयाँ सहर, ‘स्मार्ट सिटी’ निर्माणलाई अगाडि बढाउन मन्त्रालय लागिपरेको र निर्माणाधीन पूर्वाधारको चाँडो निर्माण सम्पन्न गर्नेतर्फ पनि ध्यान दिइएको उल्लेख गर्नुभयो ।
सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सरकारले मन्त्रालयलाई दिएको जिम्मेवारी अनुरुप प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास निर्माण सम्पन्न गरिएको तथा निर्माणाधीन सङ्घीय मन्त्री निवास पनि छिट्टै सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार सहरी विकास मन्त्रालयले प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास निर्माण गरेको हो ।
विसं २०७६ असोज २६ गतेदेखि निर्माण कार्य सुरु भएर चार वर्षभित्र निवास भवन सम्पन्न गरिएको छ । सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको एक/एक भवन एउटै कोलोनीमा निर्माण गरिएको छ ।
सत्र रोपनी सात आनामा भवन, पाँच रोपनीमा आन्तरिक सडक र आठ आनामा पोखरी र बगैँचा क्षेत्र रहेको छ । अत्याधुनिक सुविधायुक्त भवनसहित सबै पूर्वाधारको लागत मूल्य अभिवृद्धि करसहित रु ८५ करोड रहेको मन्त्रालयले जनाएको छ । केसी–समानान्तर जेभीले पूर्वाधार निर्माण गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री दाहालले सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको भवन निरीक्षण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्