‘जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुटबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ ।

जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उहाँले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताउनुभयो ।
नेपालको वाम लोकतान्त्रिक, राजनीतिक आन्दोलन एवं साङ्गीतिक क्षेत्रमा उहाँले पुर्याउनुभएको विशिष्ट योगदानकै कारण हालैको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको उहाँले बताउनुभयो ।
टुहुरे नेपाली वाम आन्दोलनको एक बहुआयमिक व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलन र सामाजिक रूपान्तरणको आन्दोलन उहाँको मुख्य विधा भएको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले साहित्यिक साधक अनिल पौडेललाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले जनता तथा समाजको पक्षमा सिर्जना गर्न आफूलाई अझ प्रेरित गरेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले टुहुरेको स्मृति, जीवन र कार्य समेत समाविष्ट गरी ‘जनबोलीका अविश्रान्त गायक जेबी टुहुरे’ स्मृति ग्रन्थ लोकार्पण गर्नुभएको थियो । पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उहाँसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वका साथै घनिष्ठ मित्र र नातेदारका विचार र भावना समेटिएको छ ।

विसं २००१ मा मोरङमा जन्मिनुभएका उहाँले साङ्गीतिक क्षेत्रमा प्रवेशसँगै आफूलाई जेबी टुहुरेका रूपमा स्थापित गराउनुभएको थियो । पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध सांस्कृतिक एवं साङ्गीतिक आन्दोलनको नेतृत्व गर्नुभएका टुहुरेका सयौँ कृति सार्वजनिक छन् । तीमध्ये ‘आँधी खोलैले मलाई दुई राने बनायो साहुको जालैले’, ‘छोराहरू, ‘शहीदको रात’, ‘आमा दिदी बहिनी हो कति बस्छौँ दासी बनेर’लगायत गीतले उहाँलाई राष्ट्रिय गायकमा स्थापित गरेको थियो । २०७८ साल भदौ १० गते टुहुरेको निधन भएको थियो ।
समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्