प्रतिनिधि सभा अन्तर्गतका समिति सभापतिको मनोनयन जारी
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिको नेतृत्व चयनका लागि मनोनयन जारी छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार शाहले मनोनयन दर्ता गराउनुभएको छ ।
यसैगरी कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति, सन्तोष चालिसे अर्थ समिति र आरजु राणाले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्ता गराउनुभएको छ ।
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीका सांसद अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको सभापतिका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
समितिको सभापति चयनका लागि आज बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म संघीय संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी मनोनयन प्रस्ताव दर्ताको समय तोकिएको छ ।
निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार आजै अपराह्न साँढे ४ बजे सूची प्रकाशन गर्ने कार्य तालिका रहेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटै विषय समिति सभापतिको निर्वाचन भोली दिउँसो ३ः०० बजेका लागि निर्धारण गर्नुभएको छ ।
समिति सभापतिको निर्वाचन भोलि दिउसो ३ सम्बन्धित समितिको सभा कक्षामा हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्