तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु नियन्त्रण तथा रोकथामका लागि सबैको सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री थापा

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेंगु नियन्त्रण रोकथामका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । 

सुनसरीको धरान उप–महानगरपालिकाको विभिन्न राजनीतिक दलहरूले डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारलाई आज बुझाएको ध्यानाकर्षण बुझ्दै उहाँले डेंगु नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । 

उहाँले रोग नियन्त्रणका लागि आवश्यक माग अनुसार स्वास्थ्य सामग्री तथा औषधि उपलब्ध गराइने भन्नुहुँदै रोग नियन्त्रणका लागि स्थानीय समुदाय पनि सचेत हुनुपर्ने बताउनुभयो ।

कोसी प्रदेशको बजेट पास नभएका कारण केही समस्या भएको भन्नुहुँदै उहाँले डेंगु रोगीको उचित व्यवस्थापन तथा उनीहरूलाई राहत तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो

कार्यक्रममा कोसी प्रदेशसभा सदस्य रमेश बस्नेतले महामारीको समयमा रोग नियन्त्रणका लागि सबै राजनीतिक दलको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।  

कार्यक्रममा मुख्यमन्त्री थापालाई नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी तथा जनता समाजवादी पार्टीले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । 

नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजङ एवेल, नेकपा माओवादी केन्द्र नगर सभापति सर्वजित राई, धरान नगरपालिकाका पूर्व मेयर तिलक राईले डेंगुको महामारी फैलँदा पनि धरान उपमहानगरपालिकाले पर्याप्त सहयोग नगरेको भन्दै धरानवासीको जीवन रक्षाका लागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो । 

नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले विगत तीन महिनादेखि महामारीका रूपमा फैलिएको डेंगु रोगका कारण धरानमा ११ जनाको मृत्यु भएको र धरानको कुल जनसङ्ख्या मध्ये ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या डेंगु रोगबाट प्रभावित भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button