बाँके कारागारमा आँखा पाक्ने प्रकोप, कैदी बन्दीका लागि निःशुल्क शिविर
नेपालगञ्ज । बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसिएसन र नेपालगञ्ज उच्च बार एसोसिएसनले कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेका हुन् ।
कारागारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमेर सादिकले बताउनुभयो । उहाँका अनुसार अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिएकाले पनि आँखा पाक्ने रोग फैलिएको बताइएको छ ।
जिल्ला अदालत बाँकेका न्यायाधीश धनसिंह महराले कैदीबन्दीहरुलाई औषधि हस्तान्तरण गरेर आँखा उपचार शिविरको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निःशुल्क उपचार शिविर राखेर सराहनीय काम गरेको बताउनुभयो ।
यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरूको पनि निःशुल्क आँखा परीक्षण गरेर औषधि वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्