तपाईँ सुन्दै हुनुहुन्छः

युवाले नै नेपालको रूपान्तरण गर्ने हो : अर्थमन्त्री महत

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रूपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र रूपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपाली युवाले सफ्टवेयर बनाएर एक्सपोर्ट गरिरहेको बताउँदै डा महतले नेपालमा सूचना र प्रविधिका क्षेत्रमा काम गर्ने धेरै अवसर र सम्भावना रहेकोतर्फ इङ्गित गर्नुभयो । उहाँले बजेटमा युवा उद्यमशीलताका लागि एक अर्ब रकम छुट्टाएको बताउँदै युवालाई युवा स्वरोजगार कोष, मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नसक्ने बताउनुभयो । युवा उद्यमीलाई तीन प्रतिशत व्याजमा ऋण पाउने व्यवस्था रहेको बताउँदै डा महतले आयोनलाई सहजकर्ताको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा सन् २००४ देखि दिवस मनाउने परिपाटी सुरु भएको बताउँदै चौबिसौँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदा वार्षिक छ देखि सात लाख युवा विदेशिने गरेको तथ्याङ्क रहेको बताउनुभयो । उहाँले सरकारलाई उद्यमशीलताका लागि कार्यक्रम ल्याउन र सोहीअनुसार युवाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ९२ वटा युवा संस्था आबद्ध रहेको युवा संस्था सञ्जाल नेपाल (आयोन)का तर्फबाट अध्यक्ष विकल राईले युवाका आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको मागपत्र हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button