धनगढी-डडल्धुरा भिमदत्त राजमार्ग अवरुद्ध, खाद्यान्न लगायतका सामाग्री ढुवानी कार्य ठप्प

धनगढी । पहिरोसँगै सडक भासिँदा अवरुद्ध भएको धनगढी-डडल्धुरा भिमदत्त राजमार्ग अझै सुचारु नहुँदा तराईसँग पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ भने खाद्यान्न, औषधी, तरकारी लगायतका उपभोग्य सामाग्रीको ढुवानी कार्य ठप्प भएको छ ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको हुनाका साथै धनगढी, महेन्द्रनगर, अत्तरिया बजारबाट खाद्यान्न लगायतका उपभोग्य सामाग्री ढुवानी कार्य ठप्प भएको छ भने डडेलधुरासहित पहाडी जिल्लाबाट तराई आउने तरकारी बाटामै कुहिन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत शिवराज जोशीले राजमार्ग अवरुद्ध भएपछि खाद्यान्न, तरकारी लगायत उपभोग्य सामाग्री बोकेका दर्जनौँ मालवाहक ट्रक बिचमै रोकिएको बताउनुभयो ।
उहाँले पहाडी क्षेत्रबाट आउने तरकारी थन्किएको र तराईबाट पहाडी जिल्लामा हुने दैनिक उपभोग्य सामाग्री ढुवानी कार्य पूर्ण रूपमा प्रभावित भएको जानकारी दिनुभयो ।
यस प्रदेशका पहाडी जिल्ला डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला, अछामका लागि आवश्यक पर्ने औषधी, खाद्यान्न लगायतका उपभोग्य सामाग्री, तरकारी तथा फलफूल एवं व्यापारिक सामान कैलाली लगायतका जिल्लाबाट ढुवानी हुँदै आएको छ ।
राजमार्ग अवरुद्ध भई ढुवानी कार्य रोकिएपछि व्यापारी, व्यवसायीलाई समस्या भएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले बताउनुभयो । राजमार्ग चाँडै सञ्चालन नभए पहाडी जिल्लामा खाद्यान्न लगायत सामाग्रीको अभाव सृजना हुनसक्ने उहाँले बताउनुभयो ।
यस्तै राजमार्ग अवरुद्ध हुँदा डडेलधुरा लगायतका पहाडी जिल्लाबाट प्राय एक दिनै धनगढी, महेन्द्रनगर लगायतका बजारसम्म तरकारी ल्याउने गरिएको भए पनि पाँच दिनदेखि तरकारी ढुवानी ठप्प भएको किसानहरूको भनाई छ ।
पछिल्ला दिनमा पहाडी जिल्लामा उत्पादन हुने टमाटर, बन्दा काउली, डल्ले खुर्सानी, भाजी लगायतका तरकारी धनगढी, महेन्द्रनगर हुँदै सीमावर्ती भारतीय बजारमा सम्म बिक्री वितरण हुने गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा पहिरोसँगै सडक भासिदा सोमवारदेखि भिमदत्त राजमार्ग अवरुद्ध रहेको छ ।
सडक डिभिजन कार्यालयको प्राविधिक टोलीसँगै डोजर लगाएर पहिरो पन्छ्याउने काम भइरहेको र चाँडो भन्दा चाँडो राजमार्ग सुचारु गर्ने सबै उपाय अवलम्बन गरिएको प्रशासकीय अधिकृत जोशीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्