‘परराष्ट्र लगायतका विषयमा समान धारणा बनाउन आवश्यक’
काठमाडौँ । राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति लगायतका विषयमा राजनीतिक नेतृत्वले साझा धारणा बनाएर अगाडी बढ्नुपर्नेमा सुरक्षा क्षेत्रका विज्ञहरूले जोड दिनुभएको छ ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सुरक्षा नीति, मापदण्ड, सुरक्षा निकायबिचको समन्वय लगायतका विषयमा गरेको छलफलमा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीति बनाउँदा आन्तरिक र बाह्य चुनौतीहरूलाई ध्यान दिएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
सुरक्षा विज्ञ देवीराम शर्माले राष्ट्रिय सुरक्षाको विषय राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुसार परिवर्तन हुने हुँदा देशलाई चुनौती दिने खालका सूचना प्राप्त गर्ने स्रोत बनाउनुपर्नेमा जोड दिनुभयो ।
अर्का विज्ञ अजित थापाले सुरक्षा नीति राजनीतिक रुपमा आउनुपर्ने र त्यसलाई व्यवहार र कार्यान्वयनमा लैजान सबै जिम्मेवार बन्नु आवश्यक रहेको औँल्याउनुभयो ।
यसैगरी विज्ञ देवेन्द्र सिटौलाले राष्ट्रिय सुरक्षाका विषयमा राजनीतिक दल, संसद् र सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
विज्ञ डा. विष्णुराज उप्रेतीले राष्ट्रिय सुरक्षाको विषय समग्र नीतिसँग जोडिने विषय भएकाले यसमा गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
यसैगरी विज्ञ गेजा शर्मा वाग्लेले कानुन बनाउने विषयमा मात्रै नभई सुरक्षा लगायतका सम्पूर्ण नीति बनाउने विषयमा पनि संसद् जोडिनुपर्ने भन्दै राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिलाई राष्ट्रिय सहमतिको दस्ताबेज बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले कानुन तथा नीति निर्माणका क्रममा विज्ञहरुबाट आएका सुझावलाई लिएर थप अध्ययन गर्दै अगाडी बढ्न आफूहरू प्रयत्नशील रहेको बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्