तपाईँ सुन्दै हुनुहुन्छः

सरकार भ्रष्टाचार निर्मूल गर्ने अभियानमा : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भ्रष्टाचार निर्मूल गर्दै त्यसलाई शून्य अवस्थामा पुर्‍याउने अभियानमा सरकार लागेको बताउनु भएको छ ।

मोरङको बेलबारी नगरपालिका–५ कसेनी स्थित लोहन्द्रा खोलामा  निमार्ण गरिएको पक्की पुल तथा नहरको साइपनको  आज उद्घाटन गर्नुहुँदै उहाँले भ्रष्ट्राचार निर्मूल बनाउन जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री मोदीले भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण जस्ता विषयमा देखिएका भ्रष्टाचारका विषयले जनतामा नैराश्यता छाएको बताउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउन प्रशासनिक सुधार र सुशासन आवश्यक रहेको बताउनुभयो । सङ्घीयतालाई बालियो बनाउने जिम्मामा तिन तहको सरकारको रहेको भन्नुहुँदै कर्मचारीतन्त्र लाई व्यवस्थित बनाउन आफूले कार्यदल बनाएर योग्यता अनुसार कर्मचारीको सरुवा बढुवा गर्ने गरेको उहाँले बताउनुभयो ।  जनताको इच्छा र चाहना अनुसार काम गर्न सके सङ्घीयता दिगो हुने उहाँको भनाई छ ।

उहाँले मन्त्री पद भन्ने कुरा लामो समय रही रहने पद होइन भन्नुहुँदै उहाँले आफु मन्त्री रहेपनि वा नरहेपनि सांसद पदमा बसेर भएपनि जनतालाई केन्द्र विन्दुमा राखेर आफूले जनताको लागि काम गरिरहने बताउनुभयो । ऊर्जा जलश्रोत तथा  सिचाई मन्त्रालयका सह– सचिव कृष्ण नेपालले मोरङ तथा सुनसरी जिल्लामा कमाण्ड क्षेत्र विस्तार गर्दै थप सिचाई सेवा विस्तार गर्न मन्त्रालयले कार्यदल बनाएर अध्ययन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले कोशी नदी गहिरिँदै गएकाले नहरमा पानीको क्षमता कम हुँदै आएकाले त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । सुनसरी मोरङ सिचाई आयोजना विराटनगरका अनुसार ३२ करोड ९ लाख रुपैयाँको लागतमा पुल तथा नहरको साइपन निमार्ण भएको हो ।

जस अनुसार पुलको लम्बाई  १ सय ५३ मिटर  रहेको र नहरको साइपनको लम्बाई २ सय २७ मिटर रहेको आयोजना प्रमुख भिलानन्द यादवले बताउनुभयो । २०७६ सालमा निमार्ण सम्झौता भएको सो पुल सम्पन्न अवधिभन्दा ३ महिना अगावै निमार्ण सम्पन्न भएको उहाँले बताउनुभयो । २०७० सालमा आएको बाढीले सो आयोजनाको पुल पूर्ण रुपमा भत्काएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button