तपाईँ सुन्दै हुनुहुन्छः

‘समावेशी प्रसारणमा समुदायको सहभागिता’ विषयक तीन दिने तालिम सम्पन्न

सुनसरी । रेडियो नेपालद्वारा आयोजित ‘समावेशी प्रसारणमा समुदायको सहभागिता’ विषयक अन्तरक्रिया एवं समाचार उत्पादन तथा प्रसारणमा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका–४ खार्जीस्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा सञ्चालित तालिम आज सम्पन्न भएको हो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण हुँदै आएको पूर्वेली थारु, राई वान्तवा तथा लिम्बु भाषाको समाचार र कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा श्रोता समक्ष कार्यक्रमले पारेको प्रभाव एवं आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा पहिलो दिनको सत्रमा अन्तरक्रिया भएको थियो ।

तालिममा सहभागी रेडियो नेपाल कोशी प्रादेशिक केन्द्र धनकुटाका कर्मचारी र मधेश प्रादेशिक केन्द्र बर्दिबासका कर्मचारीहरूलाई समाचार उत्पादन तथा प्रसारणमा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले रेडियो नेपालले भाषा, कला, संस्कृतिको क्षेत्रमा गरेका कार्यक्रमले स्थानीय क्षेत्रमा परेको प्रभाव र सुधार गर्नुपर्ने विषयमा जानकारीका लागि सहयोग पुगोस् भन्ने उद्देश्यबाट तालिम सञ्चालन गरिएको बताउनुभयो ।

रेडियो नेपालका उपनिर्देशक तथा तालिम प्रमुख जर्नादन विष्टले नयाँ प्रविधि अनुसार सञ्चारकर्मीहरूले पनि नयाँ प्रविधिसँगै परिमार्जित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाट क्षेत्रीले आधुनिक युगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमबाट जनशक्तिको क्षमता अभिवृद्धि हुनुका साथै नयाँ प्रविधिसँग जोडिनमा ठुलो मद्दत पुग्ने क्षेत्रीले बताउनुभयो ।

कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाट क्षेत्रीको अध्यक्षतामा समापन भएको थियो ।

तीन दिनसम्म चलेको तालिममा रेडियो नेपाल कोशी प्रादेशिक केन्द्र धनकुटाका कर्मचारी, मधेश प्रादेशिक केन्द्र बर्दिबासका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button