तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा विनियोजन विधेयक माथिको छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरू माथिको छलफल जारी रहेको छ । 

छलफलमा भाग लिँदै सांसदहरुले बजेट नीति र कार्यक्रममा भएका विषय समेटेर आउन नसकेको भन्दै आर्थिक प्रणाली र बजेट प्रणालीमा सुधार आवश्यक रहेको औँल्याउनु भयो ।  सांसदहरुले बजेट संशोधन सहित परिमार्जन गर्ने पद्धति विकास गर्नु पर्नेमा जोड समेत दिनुभयो ।

सांसदहरुले जनताको मौलिक हकका कार्यान्वयनको प्रत्याभूति जनतालाई दिने कुरामा बजेट केन्द्रित हुनु पर्नेमा जोड दिँदै स्वास्थ्य क्षेत्रमा सरकारको लगानी अत्यन्त कम भएको तर्फ समयमा नै ध्यान दिनुपर्ने बताउनु भयो ।

बजेट समन्यायिक, सन्तुलित र व्यवहारिक बन्न नसकेको तथा सङ्घीयता भनिएपनि हिजो कै एकात्मक शैलीको बजेट आएको भन्दै सांसदहरुले बजेट सङ्घीयताको मर्म अनुरुप आउनु पर्ने बताउनु भयो ।

सांसदहरुले सबै नागरिकमा खानेपानीको पहुँच पु¥याउने, जलस्रोतको संरक्षण गर्ने, सिँचाइको विकास गर्ने, कृषिको विकास गर्ने र उत्पादन बढाउने, हाइड्रो पावर र विद्युत् उत्पादन बढाउने र विद्युत् खपत गर्ने तर्फ बजेटले ध्यान दिन नसकेको आरोप लगाउनु भयो ।

बजेट जनभावना, नीति तथा कार्यक्रम अनुकूल हुनु पर्ने, कार्यान्वयनमुखी बजेट बनाइनु पर्ने, जनता र आवश्यकतासँग जोड्ने खालको बजेट आउनु पर्ने तथा बजेट कार्यान्वयनमुखी हुनु पर्नेमा समेत सांसदहरुले जोड दिनुभयो । 

सांसदहरुले पहुँचको आधारमा भन्दापनि आवश्यकताको आधारमा बजेट विनियोजन हुनुपर्ने, बजेटले आजको आवश्यकता र मागलाई ध्यान दिनु पर्ने, हरेक गाउँपालिकामा अस्पताल बनाउने, पूर्वाधारको विकास गर्ने कुरालाई बजेटले ध्यान दिनु पर्ने बताउनुभयो ।

विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरू माथि नौ वटा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिएको छ ।  

यस्तै, राष्ट्रिय सभाको आजको बैठकको शुरुमा विद्युतीय व्यापार विधेयक २०८० पेश भएको छ । 

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० पेश गर्नु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button