गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र भुटानको ड्रुक एयरले उडान गर्ने

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र भुटानको ड्रुक एयरले उडान गर्ने भएका छन् । भैरहवास्थित सिद्धार्थ होटल सङ्घको संयोजकत्वमा श्रीलङ्कामा आयोजना भएको ट्राभल मार्टमा पर्यटन सचिव सुरेश अधिकारी र श्रीलंकन एयरलाइन्सका प्रतिनिधिबीच छलफल हुँदा गौतम बुद्धमा उडान गर्न तयार रहेको जानकारी दिनुभएको छ ।
‘ट्राभलमार्टमा दुवै मुलुकका पर्यटन व्यवसायीबीच छलफल भएको थियो। त्यहाँ श्रीलंकन एयरलाइन्सका प्रतिनिधिसँग लुम्बिनी प्रवर्धन गर्ने विषयमा छलफल भएको थियो,’ सचिव अधिकारीले भन्नुभयो, ’हामीले यताबाट नेपाल वायुसेवा निगम र उताबाट श्रीलंकन एयरलाइन्सको उडान गर्ने विषयमा छलफल भएको छ।’
उहाँका अनुसार नेपाल वायुसेवा निगमको उडान प्रस्तावबारे श्रीलङ्काबाट प्रतिक्रिया आउन बाँकी छ। मन्त्रालयको तर्फबाट श्रीलंकन एयरलाइन्सलाई सुरुमा साताको एउटा उडान भैरहवा गर्न प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
भुटानको ड्रुक एयरले पनि भैरहवामा उडान गर्न प्रक्रिया अगाडि बढाएको छ। ड्रुक एयरले पारो-गया-भैरहवा त्रिकोणात्मक उडानका लागि सम्भावित अध्ययन सुरु गरिसकेको नेपालका लागि आधिकारी जीएसए डाँफे ट्राभलले जनाएको छ।
‘ड्रुक एयरले अध्ययन सुरु गरिसकेको छ। कम्पनीले पारो-गया-भैरहवा उडानको तयारी गरेको छ,’ डाँफेका सञ्चालक पवित्र कार्कीले भने,’तीनै वटा गन्तव्य बौद्ध धर्मावलम्बीका लागि विशेष रहेको छ।’








प्रतिक्रिया राख्नुहोस्